Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर–२ मा स्तनपान सप्ताह : आमा–शिशु स्वास्थ्यमा विशेष कार्यक्रम

भीमेश्वर–२ मा स्तनपान सप्ताह : आमा–शिशु स्वास्थ्यमा विशेष कार्यक्रम

नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी ९२२ साउन, २०८४, ७ अगष्ठ २०२६० शुक्रबार, बाँपिझ्याला । "जीवनको दिगो सुरुवातका लागि स्तनपान : प्रभावकारी कार्यहरूको सुदृढीकरण" भन्ने मूल नारासहित विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा भीमेश्वर नगरपालिका–२ स्थित इलाका स्वास्थ्य चौकीमा मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन लक्षित विविध कार्यक्रम सम्पन्न गरिएको छ।

जनस्वास्थ्य कार्यालय दोलखा, दोलखा स्वास्थ्य चौकी तथा नेपाल क्षयरोग निवारण संस्था दोलखाको समन्वयमा आयोजित कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई स्तनपानको सही विधि, आमाको दूधको महत्व, शिशुको पोषण, स्तनपानका स्वास्थ्य लाभ तथा स्तनपान नगर्दा हुन सक्ने जोखिमबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षणमा जनस्वास्थ्य अधिकृत सिन्धु पौडेल र कृति प्रजापति, भीमेश्वर नगरपालिकाकी नर्सिङ अधिकृत सविना बस्नेत तथा धुलिखेल अस्पतालका डा. विराटले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले जन्मेको पहिलो घण्टाभित्र शिशुलाई स्तनपान गराउने, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा त्यसपछिको पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा विशेष जोड दिनुभएको थियो।

कार्यक्रमको प्रारम्भमा इलाका स्वास्थ्य चौकी दोलखाका इन्चार्ज टेकबहादुर राउतले सहभागीलाई स्वागत गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि समुदाय, स्वास्थ्यकर्मी र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

त्यसपछि जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढामागरले विश्व स्तनपान सप्ताहको महत्वबारे प्रकाश पार्दै स्तनपानसम्बन्धी सही अभ्यासलाई घर–घरमा पुर्‍याउन सामुदायिक अभियान अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै आमाको स्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रमका सभापति इलाका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था दोलखाका अध्यक्ष तीर्थबहादुर जोशीले मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनका अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, सामाजिक संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

यस अवसरमा गर्भवती तथा सुत्केरी आमाहरूलाई ब्ल्याङ्केट वितरण गरिएको थियो। वितरण गरिएका सामग्रीको व्यवस्थापन दोलखा स्वास्थ्य चौकीका पूर्व प्रमुख तथा समाजसेवी रामकृष्ण मास्केको अगुवाइमा विभिन्न सहयोगी व्यक्ति तथा संघ–संस्थाबाट संकलित सहयोगमार्फत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा दुई जना नयाँ महिला स्वास्थ्य स्वयंसेविकालाई स्वागत गरिएको थियो भने लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा पुर्‍याउँदै आउनुभएकी सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविका देवकि खड्कालाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।

जनस्वास्थ्य अधिकृत मनोज तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती तथा सुत्केरी आमा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार विश्व स्तनपान सप्ताहलाई औपचारिक कार्यक्रममै सीमित नराखी समुदायमा स्तनपानसम्बन्धी सही अभ्यास, मातृ–शिशु स्वास्थ्य तथा पोषणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

Poshan-1.gif
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार