Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

२४ वर्षपछि पनि ताजै बोद्ले हत्याकाण्डको पीडा, १५ शहीदको बलिदान स्मरण

२४ वर्षपछि पनि ताजै बोद्ले हत्याकाण्डको पीडा, १५ शहीदको बलिदान स्मरण

नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । जनयुद्धकालमा दोलखाको बोद्लेमा सहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा २४औँ बोत्ले स्मृति दिवस आज दिउँसो ३ बजे काठमाडौंमा आयोजना हुँदैछ।

बानेश्वरस्थित काठमाडौं ब्याङ्केट हलमा हुने कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ।

शहीदहरूको योगदानको स्मरण तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता, शहीद परिवार, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

नेकपा दोलखा जिल्ला इञ्चार्ज विशाल खड्काले कार्यक्रममा सहभागी भई शहीदहरूप्रति सम्मान प्रकट गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले कार्यक्रमलाई भव्य, मर्यादित र प्रभावकारी बनाउन कार्यक्रमसम्बन्धी जानकारी व्यापक रूपमा साझा गरी सहभागिता जनाउन पनि अनुरोध गर्नुभएको छ।

आयोजकका अनुसार बोद्ले स्मृति दिवसले द्वन्द्वकालमा ज्यान गुमाएका शहीदहरूको योगदानको सम्मान गर्दै शान्ति, मेलमिलाप र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्ने विश्वास लिइएको छ।

हत्याकाण्डको २४औँ स्मरण : जनयुद्धका १५ शहीदको योगदान सम्झँदै भावुक बने नेता शंकर लामा

तत्कालीन सशस्त्र द्वन्द्व (जनयुद्ध) का सबैभन्दा दर्दनाक घटनामध्ये एक मानिने दोलखाको बोद्ले सामूहिक हत्याकाण्डको २४औँ स्मरण गरिएको छ। स्मरणमा नेकपाका नेता शंकर लामाले २०५९ साल साउन १८ गते बोडडाँडामा भएको सैन्य कारबाहीको घटनाक्रम सार्वजनिक गर्दै त्यस दिनको पीडादायी क्षण सम्झनुभएको छ।

नेता लामाका अनुसार तत्कालीन काटाकुटी गाविस–२ (हाल शैलुङ गाउँपालिका–३) को बोत्लेमा भएको सैन्य कारबाहीमा तत्कालीन नेकपा (माओवादी) का १५ जना कार्यकर्ताले सहादत प्राप्त गरेका थिए। उहाँले उक्त घटनालाई जनयुद्धकालको सबैभन्दा दुःखद र कहालीलाग्दो घटनामध्ये एक भएको बताउनुभयो।

शोकसभापछि बोद्लेमा पुगेको टोलीमाथि भयो आक्रमण

लामाका अनुसार असार २ गते पार्टी नेता रितबहादुर खड्का ‘प्रताप’ शहीद भएपछि साउन १५ गते फस्कुको गोठपानीमा शोकसभा आयोजना गरिएको थियो। त्यसपछि संगठन विस्तारको अभियानलाई निरन्तरता दिने योजनाअनुसार टोली विभिन्न गाउँ हुँदै देउराली पुगेको थियो।

साउन १७ गते राति कार्यक्रम सम्पन्न गरेर करिब ५२ जना जनसेना तथा संगठनका सदस्य बोद्लेमा फर्किएका थिए। उनीहरू सुरक्षालाई ध्यानमा राख्दै विभिन्न घरमा विभाजन भएर बसेका थिए। वर्षाका कारण भिजेका कपडा सुकाएर खाना खाएपछि सुरक्षाका लागि विभिन्न स्थानमा सेन्ट्री खटाइएको थियो भने अन्य सदस्य विश्राममा थिए।

राति ४ः३० बजे सुरु भयो भीषण सैन्य कारबाही

नेता लामाका अनुसार राति करिब ४ः३० बजे पहिलो गोली चलेको आवाज सुनिएपछि सुरक्षामा खटिएका सदस्यहरूले अवस्था बुझ्ने प्रयास गरेका थिए। दोस्रोपटक लगातार गोली चलेपछि मात्रै ठूलो संख्यामा तत्कालीन शाही सेना पुगेको पुष्टि भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार सेन्ट्रीले ‘को हो?’ भनेर सोध्दा सैनिक पक्षबाट ‘भीमसेन’ भन्ने जवाफ आएको थियो। केही क्षण अन्योल भए पनि शंका लागेपछि सेन्ट्रीले गोली चलाएसँगै चारैतिरबाट भीषण आक्रमण सुरु भएको थियो।

घरबाट बाहिर निस्कने क्रममा तीर्थमाया वाइबा ‘चेतना’ माथि गोली लागेको र घटनास्थलमै उहाँको मृत्यु भएको नेता लामाले स्मरण गर्नुभयो। त्यसपछि चारैतिरबाट गोलीबारी चर्किएको र विभिन्न घरमा बसेका टोलीहरू घेराबन्दीमा परेका थिए।

ग्रिनेडसहित प्रतिकार, तर धेरैले गुमाए ज्यान

उहाँका अनुसार आक्रमणको सामना गर्दै केही टोलीले ग्रिनेडसमेत प्रयोग गरेर प्रतिकार गरेका थिए। विशेष गरी विश्वास र अर्चनाको नेतृत्वमा रहेको टोलीले प्रतिरोध गरेपछि केही सदस्यहरू घेराबाट उम्किन सफल भए पनि धेरैले ज्यान गुमाएका थिए।

नेता लामा स्वयं भने आफू बसेको कोठाबाट हाम फालेर भाग्न सफल भएको बताउनुहुन्छ। तर आफू बसेको घरका अधिकांश साथीहरू त्यही आक्रमणमा मारिएको सम्झँदा अहिले पनि मन भारी हुने उहाँले बताउनुभयो।

आफ्नै छोराले देखे त्रासदीका दृश्य

घटनाको अर्को मार्मिक पक्ष सुनाउँदै नेता लामाले आफ्नो जेठो छोरा त्यतिबेला सानो भएकाले सैनिकले हत्या नगरी नियन्त्रणमा लिएको बताउनुभयो। उहाँका अनुसार बालकले घटनास्थलका विभत्स दृश्य आफ्नै आँखाले देखेका थिए। पछि विद्यालयमा राखिएको अवस्थामा त्यहाँबाट भागेर उनी सुरक्षित हुन सफल भएको उहाँले जानकारी दिनुभयो।

बोद्लेमा सहादत प्राप्त गर्ने १५ जनाको नाम

तीर्थमाया वाइबा (चेतना)
टोपनाथ सापकोटा (ज्वाला)
बेदप्रसाद शर्मा (योद्धा)
लक्ष्मी पराजुली (निर्झवाला)
दलबहादुर तामाङ (शैलुङ)
दीपक थामी (निपेश)
गोविन्द आचार्य
सुन्दरी चापागाईं
रणबहादुर थामी
कल्पना थामी
कविता थामी
गायत्री श्रेष्ठ
रेणुका तामाङ
सुकमान तामाङ (किरण)
मीना सापकोटा

नेकपा दोलखाका जिल्ला सह–ईञ्चार्ज ज्योति श्रेष्ठका अनुसार विगतका वर्षहरूमा बोद्लेडाँडामा नै गएर स्मृति दिवस आयोजना हुँदै आएको भए पनि गतवर्ष देखि काठमाडौंमा विशेष स्मृति सभा तथा शहीद परिवार सम्मान कार्यक्रम आयोजना गरिएको छ।

उहाँले शहीदहरूको योगदानलाई सम्मान गर्दै परिवारका सदस्यहरूलाई सम्मान गरिएको जानकारी दिनुभयो। शहीदहरूले परिवर्तनका लागि गरेको बलिदानलाई इतिहासले सधैं सम्झिरहने उहाँको भनाइ रहेको छ ।

दोरम्बा हत्याकाण्ड पनि स्मरण

ज्योति श्रेष्ठले बोद्ले हत्याकाण्डको स्मरण गर्दै त्यसको ठीक एक वर्षपछि वि.सं. २०६० साउन ३२ गते रामेछापको दोरम्बा सामूहिक हत्याकाण्डमा पनि तत्कालीन माओवादी कार्यकर्तामाथि सामूहिक हत्या भएको घटना स्मरण गर्नुभयो।

उहाँले बोत्ले र दोरम्बा दुवै घटनाले नेपालको सशस्त्र द्वन्द्वकालीन इतिहासमा गहिरो पीडा र घाउ छाडेको उल्लेख गर्दै यस्ता घटनाबाट शिक्षा लिएर शान्ति, मेलमिलाप र लोकतान्त्रिक मूल्यको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

बोद्ले सामूहिक हत्याकाण्ड जनयुद्धकालको अत्यन्त संवेदनशील र ऐतिहासिक घटनाका रूपमा आज पनि सम्झिने गरिन्छ। प्रत्येक वर्ष साउन १८ गते शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको सम्मान गर्ने परम्परा कायम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार