Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

गोलीकाण्डपछि कप्तानगञ्ज: दुई समुदाय त्रासमा, राज्यसँग न्याय र सद्भावको गुहार

गोलीकाण्डपछि कप्तानगञ्ज: दुई समुदाय त्रासमा, राज्यसँग न्याय र सद्भावको गुहार

नेपाल सम्वत् ११४६, दिल्लागाः १ प्रतिपदा (१४ साउन, २०८४, ३० जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार भएको हिंसात्मक घटनापछि चार दिन बितिसक्दा पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बजार अझै बन्द छ, गाउँमा त्रासको वातावरण कायम छ भने दुवै समुदायका स्थानीयले न्याय, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापनाका लागि राज्यको प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।

बिहीबार दिउँसो करिब पौने २ बजे श्रीराम चोकमा ठूलो संख्यामा स्थानीय युवाहरू भेला भएर मृतकलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका थिए। चौबाटोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सुरक्षा घेरा तैनाथ थियो भने सुरक्षा व्यवस्थाका कारण स्थानीयको आवतजावत समेत प्रभावित बनेको थियो।

त्यही क्रममा न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको खबर गाउँमा पुगेपछि प्रदर्शनकारीहरू थप आक्रोशित बने। मृतकको संख्या दुई पुगेको समाचारसँगै प्रदर्शन तीव्र बनेको थियो। युवाहरूले प्रहरीको घेरा पार गर्दै नजिकैको शिव मन्दिरसम्म पुगेर नाराबाजी गरेपछि पुनः बजार क्षेत्रतर्फ फर्किएका थिए। प्रदर्शनमा महिला तथा बालबालिकाको समेत सहभागिता रहेको थियो।

कप्तानगञ्जमा आइतबार रातिको हिंसाको चिन्ह अझै मेटिएको छैन। सडक किनारमा जलेका मोटरसाइकलका अवशेष यथावत छन् भने बजारका अधिकांश पसल चार दिनदेखि बन्द छन्। किसानले खेतबारीको कामसमेत रोकिएको स्थानीय बताउँछन्। दिन जसोतसो बिते पनि रात कसरी कटाउने भन्ने चिन्ताले गाउँका धेरै परिवार त्रसित छन्। सम्भावित अप्रिय घटनाको डरले कतिपयले आफ्ना साना बालबालिकालाई आफन्तको घरमा सुरक्षित स्थानमा पठाएका छन्।

श्रीराम चोकका स्थानीय रामचन्द्र मेहताले गाउँको समस्या समाधानका लागि केन्द्र सरकारले गम्भीर चासो दिनुपर्ने बताए। उनले अहिले स्थानीय सरकार, संघीय सरकार र सबै राजनीतिक पक्ष बसेर समस्याको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार गाउँको वास्तविक पीडा काठमाडौंसम्म पुग्न सकेको छैन।

सडकमा युवाहरू आन्दोलन गरिरहेका बेला सार्वजनिक चौरमा टेन्टमुनि बसेका स्थानीय सामाजिक अगुवाहरू भने सदियौँदेखि कायम रहेको हिन्दु–मुस्लिम सामाजिक सम्बन्ध कसरी पुनःस्थापित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए। उनीहरूले पीडित परिवारलाई राहत, घाइतेलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्न राज्यले पहल गर्नुपर्ने माग गरेका छन्।

स्थानीय सूर्यनारायण यादवका अनुसार कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच दशकौँदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको थियो। बस्तुभाउको किनबेच, खेतीपाती, मेलापर्व तथा सामाजिक गतिविधिमा दुवै समुदाय मिलेर सहभागी हुँदै आएका थिए। पछिल्लो समय बाह्य प्रभावका कारण सामाजिक सम्बन्धमा दरार आएको हुन सक्ने भन्दै उनले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

स्थानीय सामाजिक अगुवा अरुण मेहताले विवादको केन्द्रमा रहेको दर्ता नभएको मदरसाको विषयलाई राज्यले कानुनी रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे। उनका अनुसार त्यस विषयमा स्पष्ट निर्णय भएपछि समुदायबीच देखिएको अविश्वास हटाउन सहज हुने विश्वास स्थानीयमा रहेको छ।

रामनारायण मेहताले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही नगरेसम्म स्थानीयमा विश्वासको वातावरण बन्न नसक्ने बताए। उनले दुवै समुदाय यही गाउँमा बस्नुपर्ने भएकाले राज्यले न्यायसहित मेलमिलापको वातावरण तयार गर्नुपर्नेमा जोड दिए।

स्थानीय शिक्षक सञ्जय मेहताले गोलीकाण्डमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर निष्पक्ष छानबिन भएमा तनाव क्रमशः कम हुने विश्वास व्यक्त गरे। उनले विगतमा दुवै समुदाय मिलेर बसेकाले भविष्यमा पनि आपसी सम्मान र विश्वासका आधारमा सहअस्तित्व सम्भव रहेको बताए।

मुस्लिम समुदायका ज्येष्ठ नागरिक ताहिर मियाँले जीवनको उत्तरार्धमा यस्तो सामाजिक मनमुटाव देख्नुपर्दा दुःख लागेको बताए। उनले पाँच दशकभन्दा बढी समयदेखि हिन्दु–मुस्लिम समुदायबीच कुनै ठूलो विवाद नभएको स्मरण गर्दै केही दिनको घटनाले वर्षौँदेखिको सम्बन्धमा दरार आएकोमा चिन्ता व्यक्त गरे। अहिलेको अवस्था चाँडै अन्त्य भई पुरानै सद्भाव फर्कियोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए।

स्थानीय युवा जाबिर मियाँले पनि समुदायबीचको सम्बन्ध पुनः सामान्य बन्नुपर्नेमा जोड दिए। उनका अनुसार अहिले दुवै समुदायका मानिस त्रासमा छन्। एक पक्ष सडकमा आन्दोलन गरिरहेको छ भने अर्को पक्ष घरभित्रै बसे पनि सुरक्षित महसुस गर्न सकेको छैन।

स्थानीयहरूका अनुसार कप्तानगञ्ज अहिले न्याय, सुरक्षा र सामाजिक विश्वास पुनःस्थापनाको प्रतीक्षामा छ। उनीहरू दोषीमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही, पीडितलाई राहत तथा सरकारको सक्रिय सहजीकरणमार्फत दुवै समुदायबीचको सद्भाव पुनःस्थापना होस् भन्ने अपेक्षामा छन्। आइतबार सुरु भएको तनाव अन्त्य गरी कप्तानगञ्जलाई पुनः शान्त, सुरक्षित र सहअस्तित्वको गाउँ बनाउन राज्यको प्रभावकारी भूमिका अपरिहार्य रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार