Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा सम्बोधन : “अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गरौँ”

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा सम्बोधन : “अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गरौँ”

नेपाल सम्वत् ११४६, दिल्लागाः १ प्रतिपदा (१४ साउन, २०८४, ३० जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबारे देशवासीका नाममा सम्बोधन गर्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई अपिल गर्नुभएको छ।

प्रधानमन्त्री शाहले नेपाल सरकार घटनाप्रति पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउँदै घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

उहाँले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। स्थानीय अवस्था सामान्य बनाउन सुरक्षा निकाय परिचालन गरिएको, गृहमन्त्री स्वयं घटनास्थल पुगिसकेको तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णयहरू गरिएको पनि उहाँले बताउनुभयो।

प्रधानमन्त्री शाहले केन्द्रमा सर्वदलीय बैठक तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै थप तनाव हुन नदिन सरकार सक्रिय रहेको बताउनुभयो।

सामाजिक सञ्जालमा फैलाइने असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्रीप्रति सचेत रहन आग्रह गर्दै उहाँले सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबै नागरिकलाई अनुरोध गर्नुभयो।

उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताउनुभयो। कुनै एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै देशभर प्रतिशोधको वातावरण सिर्जना गर्नु कुनै पनि दृष्टिले उचित नहुने उहाँको भनाइ थियो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज र सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुँदै शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सरकारको तर्फबाट हार्दिक अपिल गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार