Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गुरुपूर्णिमाको अवसरमा भीम माविका पूर्व गुरु–विद्यार्थीको आत्मीय पुनर्मिलन

गुरुपूर्णिमाको अवसरमा भीम माविका पूर्व गुरु–विद्यार्थीको आत्मीय पुनर्मिलन

नेपाल सम्वत् ११४६, दिल्लागाः १ प्रतिपदा (१४ साउन, २०८४, ३० जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । गुरुपूर्णिमाको अवसर पारेर भीम माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूको सहभागितामा गुरु पूजा, सम्मान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमले गुरु–शिष्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शिक्षा र संस्कारप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गरेको छ।

पूर्व शिक्षक तिर्थनारायण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व शिक्षक अमरकुमार प्रधान र बालकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन युवा समाजसेवी तथा व्यवसायी राजन श्रेष्ठले गर्नुभएको थियो भने पूर्व विद्यार्थी साजन श्रेष्ठ, दिपनारायण श्रेष्ठ, मनोज चाकुबजी र हिमाल श्रेष्ठले सह–व्यवस्थापन गरेका थिए। कार्यक्रममा दुई दर्जनभन्दा बढी पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गुरुपूजाको अवसरमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्दै विद्यालय जीवनका अविस्मरणीय अनुभवहरू साटासाट गरेका थिए। गुरु–शिष्यबीचको सम्बन्ध केवल विद्यालयको कक्षाकोठामा सीमित नहुने, जीवनभर मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने भएकाले यस्ता कार्यक्रमले सम्बन्धलाई अझ आत्मीय बनाउने सहभागीहरूले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक राजन श्रेष्ठले विगत १० वर्षदेखि गुरुपूर्णिमाको अवसरमा पूर्व शिक्षक र पूर्व विद्यार्थीहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो। उहाँले गत वर्ष काठमाडौंस्थित क्रिष्टल पार्टी भेन्युमा वर्तमान तथा पूर्व गुरुहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको स्मरण गर्दै आगामी दिनमा पनि सम्भव भएसम्म तीन वा पाँच वर्षको अन्तरालमा अझ बृहत् रूपमा वर्तमान र पूर्व शिक्षक तथा विद्यार्थीहरूको पुनर्मिलन गराउने योजना रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तिर्थनारायण मानन्धरले केक काटेर गुरुपूजा कार्यक्रमको शुभारम्भ गर्दै आयोजक पूर्व विद्यार्थीहरूको सक्रियता र सम्मानभावको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ बलियो बनाउने मात्र नभई नयाँ पुस्तालाई पनि गुरुको सम्मान गर्ने संस्कार सिकाउने विश्वास व्यक्त गर्नुभयो। साथै कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आयोजक टोलीलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले विद्यालयका आदरणीय पूर्व शिक्षक बद्रिमान सिंह श्रेष्ठ, चोकबहादुर दाहाल, तिर्थनारायण मानन्धर, अमरकुमार प्रधान, लक्ष्मण श्रेष्ठ र शान्तकृष्ण श्रेष्ठले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गरेका थिए। उहाँहरूले आफ्नो अध्ययनकालमा गुरुहरूबाट प्राप्त शिक्षा, अनुशासन र नैतिक मूल्यहरूले जीवनमा सकारात्मक प्रभाव पारेको अनुभव पनि सुनाएका थिए।

यसै अवसरमा दिवंगत शिक्षक जगतारायण श्रेष्ठ, श्याम श्रेष्ठ र प्रमोद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गरिएको थियो। सहभागीहरूले दिवंगत गुरुहरूको आत्माको चिरशान्तिको कामना गर्दै उहाँहरूको योगदान सधैँ स्मरणीय रहने बताएका थिए।

कार्यक्रममा पूर्व विद्यार्थी उपेन्द्र प्रधान, उज्वल प्रधान, होमचन्द्र श्रेष्ठ, बदन श्रेष्ठ, चिरण मानन्धर र सुवास खतिवडाका साथै शुभचिन्तक शशि प्रधान, व्यवसायी दिपक थापा र महेशचन्द्र महतको पनि उपस्थिति रहेको थियो।

युवा कलाकार दिपनारायण श्रेष्ठले कार्यक्रमका सहभागी सम्पूर्ण पूर्व शिक्षक तथा विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण बाँपिझ्याला डटकममार्फत गरिएको थियो। कार्यक्रमको समापनपछि सहभागीहरूबीच सामूहिक रात्रीभोजको व्यवस्था गरिएको थियो।

विगतदेखि निरन्तर सञ्चालन हुँदै आएको यो पुनर्मिलन कार्यक्रमले गुरु–शिष्यबीचको सम्मान, विश्वास र आत्मीय सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ। शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई जीवन निर्माणको आधार भएकाले गुरुहरूको योगदानलाई सम्मान गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार