Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सुनसरी घटनामा सर्वदलीय बैठकको निष्कर्ष: अफवाह होइन, संवाद र संयमता अपनाऔँ

सुनसरी घटनामा सर्वदलीय बैठकको निष्कर्ष: अफवाह होइन, संवाद र संयमता अपनाऔँ

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाको समीक्षा गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त अपिल जारी गरेको छ।

बैठकले घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

संयुक्त वक्तव्यमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ। आवेग र उत्तेजनाले समस्या झन् जटिल बनाउने भएकाले संयमता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

बैठकले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न असन्तुष्टि तथा विवादहरूको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण ढंगले राख्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

यसैगरी, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टीका संरचनालाई निर्देशन दिइएको छ। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनबीच समन्वय बढाएर शान्ति कायम गर्न सक्रिय हुनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

वक्तव्यमा यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूले आवश्यक पहल, निरन्तर समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले अवस्था थप जटिल बनाउन सक्ने भन्दै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई समेत तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

संयुक्त वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

अन्त्यमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षणका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै सरकार र समाजसँग मिलेर समस्याको दीर्घकालीन, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

उक्त संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरोन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार