Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पाखलती व्यापारिक भवनको मासिक भाडा रु. ८५ हजार, भीमेश्वर नगरपालिकाद्वारा ठेक्का आह्वान

पाखलती व्यापारिक भवनको मासिक भाडा रु. ८५ हजार, भीमेश्वर नगरपालिकाद्वारा ठेक्का आह्वान

भीमेश्वर नगरपालिकाले आन्तरिक आय सङ्कलन तथा बन्दोबस्ती गर्ने उद्देश्यले नगर क्षेत्रभित्र रहेका विभिन्न पूर्वाधारहरू भाडामा लगाउन सार्वजनिक ठेक्का आह्वान गरेको छ। नगरपालिकाले साउन १२ गते सूचना प्रकाशित गर्दै इच्छुक फर्म, कम्पनी, संस्था तथा व्यक्तिहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो।

सूचनाअनुसार पाखलतीस्थित पाखलती व्यापारिक भवन (एकमुष्ट) को न्यूनतम मासिक भाडा रु. ८५ हजार तोकिएको छ। यसका लागि दरभाउपत्र दस्तुर रु. १ हजार कायम गरिएको छ।

यस्तै, सातदोबाटोस्थित सपिङ कम्प्लेक्सको भुइँतला को न्यूनतम मासिक भाडा रु. ७० हजार निर्धारण गरिएको छ। साथै, भीमेश्वर रङ्गशाला (डेडिकेटेड) परिसरका विभिन्न सटरहरू पनि मासिक रु. ४ हजार ४ सयदेखि रु. ६ हजार २ सय सम्मको न्यूनतम भाडादरमा ठेक्कामार्फत सञ्चालनका लागि खुला गरिएको नगरपालिकाले जनाएको छ।

सूचनाअनुसार दरभाउपत्र फाराम २०८३ साउन २६ गते साँझ ५ बजेसम्म खरिद गर्न सकिनेछ भने साउन २७ गते बिहान १ बजेसम्म कार्यालयमा दर्ता गर्नुपर्नेछ। सोही दिन बिहान २ बजे दरभाउपत्र खोलिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले दरभाउपत्रमा सहभागी हुने फर्म वा संस्थाले अद्यावधिक दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) वा प्यान दर्ता, कर चुक्ता प्रमाणपत्र तथा आवश्यक अन्य कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ। साथै, कबोल अङ्कको ५ प्रतिशत रकम धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच, पाखलती व्यापारिक भवनको मासिक भाडा रु. ८५ हजार निर्धारण गरिएको विषयलाई लिएर स्थानीय व्यवसायी तथा नागरिकले चासो व्यक्त गरेका छन्। उनीहरूले बजारको वर्तमान व्यापारिक अवस्था र आर्थिक मन्दीलाई ध्यानमा राख्दै भाडादर पुनर्विचार गर्न नगरपालिकासँग माग गरेका छन्।

Bhimeshwor-notice.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार