नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । नेपालका सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गर्नुभएको छ। एशियाका उत्कृष्ट युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा उहाँले हासिल गरेको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक भएको नेपाल बुद्धिचाल महासङ्घले जनाएको छ।
महासङ्घका अध्यक्ष हेराकाजी महर्जनका अनुसार चाइनिज चेस सङ्घको आयोजनामा जुलाई २४ मा सम्पन्न प्रतियोगिता तीन मिनेट र दुई सेकेन्डको ब्लिट्ज ढाँचामा नौ चरणीय स्विस प्रणालीअनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितामा एशियाका ३२ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको थियो।
२०५३ अन्तर्राष्ट्रिय रेटिङ भएका सिलवाल प्रतियोगितामा २२औँ वरीयताका रूपमा सहभागी हुनुभएको थियो। तर अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै उहाँले कुल ६.५ अङ्क जोडेर चौथो स्थान सुरक्षित गर्नुभयो। प्रतियोगिताभर उहाँको औसत प्रदर्शन रेटिङ २३४५ रह्यो भने व्यक्तिगत रेटिङमा १३६.८ अङ्कको वृद्धि भएको छ।
सिलवालले पहिलो चरणमा चीनका १७४१ रेटेड चेन सिन्सुओलाई पराजित गर्दै सुखद सुरुआत गर्नुभएको थियो। त्यसपछि दोस्रो चरणमा रुसका २३४९ रेटेड एफएम इफिमोफ लियोनिद र तेस्रो चरणमा भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्हलाई हराउँदै लगातार तीन जित दर्ता गर्नुभयो।
चौथो चरणमा काजाखस्तानका एफएम बोलात इनायतसँग पराजित भए पनि पाँचौँ चरणमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुईलाई हराएर पुनः लयमा फर्कनुभयो। छैटौँ चरणमा भियतनामका आईएम फाम ट्रान गियासँग बराबरी खेल्नुभएका सिलवालले त्यसपछि लगातार दुई जित निकाल्दै हङकङका सीएम काओ जामिसन एड्रिच र चीनका २३६७ रेटेड चेए जियाचेनलाई पराजित गर्न सफल हुनुभयो।
उपाधि नजिक पुगेका सिलवाल अन्तिम तथा निर्णायक चरणमा भियतनामका एफएम डुओङ भु आनसँग पराजित भएपछि पदक जित्नबाट भने चुक्नुभयो। डुओङ भु आनले अन्तिम खेलको जितसँगै ७.५ अङ्क जोडेर प्रतियोगिताको उपाधि जिते।
प्रतियोगितामा फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो सात अङ्कसहित दोस्रो स्थानमा रहे भने भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि सात अङ्कसहित टाइब्रेकका आधारमा तेस्रो भए। समान ६.५ अङ्क जोडेका सिलवाल टाइब्रेकका आधारमा चौथो स्थानमा सीमित भए पनि उहाँको प्रदर्शन नेपाली बुद्धिचालका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij