Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

लैङ्गिक न्यायका लागि कालिञ्चोक क्याङ्पोलमा अभिमुखीकरण

लैङ्गिक न्यायका लागि कालिञ्चोक क्याङ्पोलमा अभिमुखीकरण

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिका–१ स्थित क्याङ्पोलमा समुदायमा सञ्चालित विकासका गतिविधिलाई थप समावेशी र लैङ्गिक रूपमा न्यायपूर्ण बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

ग्रामीण विकास टुकी संघ र सिविन नेपालद्वारा सञ्चालित ओसेलिप परियोजनाको सहयोग तथा लालीगुँरास स्वास्थ्य सुधार आमा समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विकास निर्माणका गतिविधिमा महिला र पुरुषको समान सहभागिता, अवसरको समान पहुँच तथा लैङ्गिक न्यायको अवधारणाबारे विस्तृत छलफल गरिएको थियो।

अभिमुखीकरणमा सहभागीहरूलाई समूहगत छलफल, प्रस्तुतीकरण तथा अनुभव आदान–प्रदानमार्फत विकास प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गर्नुको महत्त्वबारे जानकारी गराइएको थियो। कार्यक्रममा लिङ्ग र लैङ्गिकताबीचको भिन्नता, समाजले महिला र पुरुषका लागि निर्धारण गरेका परम्परागत भूमिका तथा त्यसबाट उत्पन्न हुने असमानताका विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो।

सहजीकरणका क्रममा अवसर, शिक्षा र नेतृत्वमा समान पहुँच उपलब्ध भए महिलाले पनि कुनै पनि क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने तथ्य विभिन्न सफल महिलाका उदाहरणमार्फत प्रस्तुत गरिएको थियो। साथै, समावेशी र लैङ्गिक न्यायमा आधारित विकासले मात्र परिवार, समुदाय र समग्र समाजको दिगो समृद्धिमा योगदान पुर्‍याउने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागीहरूले भविष्यमा यस्ता अभिमुखीकरणमा महिला र पुरुष दुवैको संयुक्त सहभागिता सुनिश्चित गर्न सके लैङ्गिक समानताप्रतिको बुझाइ अझ प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

लालीगुँरास स्वास्थ्य सुधार आमा समूहकी अध्यक्ष बेविना थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओसेलिप परियोजनाका सह–व्यवस्थापक रामचन्द्र सिंह श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा २५ जना महिला र २ जना पुरुष गरी कुल २७ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार