नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १० दशमी (८ साउन, २०८३, २४ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन गर्ने दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ।
यस वर्षको फिफा विश्वकप सुरु भएपछि यस्ता अवैधानिक प्लेटफर्मको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्राधिकरणले विशेष अभियान सञ्चालन गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँग समन्वय गरेर कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि नै प्रमुख आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर अवैधानिक वेबसाइट तथा एपको यूआरएल पहिचान गरी तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो। विभिन्न अधिकारप्राप्त निकायबाट पहिचान गरिएका बेटिङ साइट र अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरू आईएसपीको सहकार्यमा बन्द गरिएको उहाँले बताउनुभयो।
महतोका अनुसार एउटा वेबसाइट बन्द गरेपछि सोही प्रकृतिका नयाँ वेबसाइट फेरि सञ्चालनमा आउने चुनौती रहेको छ। त्यसैले नयाँ खुलेका वेबसाइटहरू निरन्तर पहिचान गरी बन्द गर्ने कार्य भइरहेको छ। यसका लागि प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी शंकास्पद वेबसाइटहरूको निगरानी तथा खोजी गर्ने व्यवस्था मिलाएको छ भने यसका लागि आवश्यक जनशक्तिसमेत परिचालन गरिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई पनि यस्ता अवैधानिक वेबसाइट वा एपबारे जानकारी भएमा सम्बन्धित विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्महरू बन्द गर्ने प्रक्रिया अगाडि बढाइने जनाएको छ।
प्राधिकरणका अनुसार अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबारलाई नियन्त्रण गर्न सरकार, नियामक निकाय र इन्टरनेट सेवा प्रदायकबीचको समन्वयलाई अझ प्रभावकारी बनाइएको छ। यस अभियानले डिजिटल माध्यमबाट हुने गैरकानुनी गतिविधि नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij