Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

७३ वर्ष पुरानो नेपाल व्यायाम मन्दिर नयाँ अवतारमा : आधुनिक फिटनेस सुविधासहित पुनः सञ्चालन

७३ वर्ष पुरानो नेपाल व्यायाम मन्दिर नयाँ अवतारमा : आधुनिक फिटनेस सुविधासहित पुनः सञ्चालन

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ९ नवमी (७ साउन, २०८३, २३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालकै पुरानो व्यायामशाला नेपाल व्यायाम मन्दिर नयाँ स्वरूप र अत्याधुनिक सुविधासहित पुनः सञ्चालनमा आएको छ। समयअनुसार बदलिँदो स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै व्यायाम मन्दिरलाई आधुनिक प्रविधि र सुविधासहित पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

वि.सं. २०१० सालमा ‘युथ संगठन’ नामबाट सुरु भएको नेपाल व्यायाम मन्दिरले खिचापोखरी, भुरुखेल हुँदै हाल ज्याठामा आफ्नो स्थायी पहिचान बनाएको हो। सात दशकभन्दा लामो इतिहास बोकेको यस व्यायामशालाले नेपाली समाजमा स्वास्थ्य चेतना र शारीरिक तन्दुरुस्तीको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नयाँ स्वरूपमा सञ्चालनमा आएको व्यायाम मन्दिरमा चीनको ‘फिटनेस च्वाइस’ संस्थामार्फत एक करोड रुपैयाँभन्दा बढी मूल्यका अत्याधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जडान गरिएको छ। नयाँ उपकरण र प्रविधिले सेवाग्राहीलाई थप सहज, सुरक्षित र प्रभावकारी व्यायामको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

व्यायाम मन्दिरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्टिम, साउना बाथ तथा कार्डियो स्टेसनको व्यवस्था गरिएको छ। त्यस्तै, दुवैका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ। नयाँ संरचना र उपकरण थपिएसँगै अब एकै सिफ्टमा ८० देखि १०० जनासम्मले सहज रूपमा व्यायाम गर्न सक्ने क्षमता पुगेको जनाइएको छ।

नियमित जिम सेवाका अतिरिक्त व्यायाम मन्दिरमा जुम्बा, विशेष योग कक्षा, किकबक्सिङ प्रशिक्षणलगायत विभिन्न खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको नेपाल व्यायाम मन्दिरको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार गर्नुभयो। कार्यक्रममा व्यायाम मन्दिरका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले यो संस्था जनस्तरबाट सञ्चालन हुँदै आएको व्यायामशाला भएको उल्लेख गर्दै सेवाग्राहीलाई सहज पहुँच दिने उद्देश्यले सेवा शुल्कलाई तुलनात्मक रूपमा सस्तो र सुलभ राखिएको बताए।

उनले आधुनिक सुविधा थपिएसँगै व्यायाम मन्दिरले स्वास्थ्य, फिटनेस र खेलकुद संस्कृतिको विकासमा अझ प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार