Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

काभा पुरुष भलिबल : पहिलो जितको खोजीमा आज नेपाल र श्रीलंका आमनेसामने

काभा पुरुष भलिबल : पहिलो जितको खोजीमा आज नेपाल र श्रीलंका आमनेसामने

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ९ नवमी (७ साउन, २०८३, २३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्स मा नेपाली समयअनुसार बिहान ११स्१५ बजे सुरु हुनेछ।

दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिरहेका छन्। नेपालले बुधबार भएको उद्घाटन खेलमा कजाखस्तानसँग पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा पराजय बेहोरेको थियो। सुरुआती दुई सेट गुमाएपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेललाई निर्णायक पाँचौँ सेटसम्म पुर्‍याए पनि अन्ततः हार टार्न सकेन।

यता श्रीलंका भने आफ्नो पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो तीन सेटमा पराजित भएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा हेरिएको छ।

एफआईभिबी विश्व वरियतामा नेपाल हाल ८४औँ स्थानमा रहेको छ भने श्रीलंका ८८औँ स्थानमा छ। पहिलो खेलपछि नेपाल विश्व वरियतामा समावेश भएको हो, जसले नेपाली भलिबलका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

आजै प्रतियोगितामा कजाखस्तान र उज्वेकिस्तान तथा पाकिस्तान र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ।

छ राष्ट्र सहभागी प्रतियोगितामा सबै टोलीले एकआपसमा खेल्नेछन्। लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोली यसपटक युवा खेलाडीहरूको मिश्रणसहित मैदानमा उत्रिएको छ। टोलीमा समावेश गरिएका ६ नयाँ खेलाडीले कजाखस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन्। नेपाल आज श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार