Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

थेचोमा निःशुल्क आँखा शिविर, ३३ मोतिबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया हुने

थेचोमा निःशुल्क आँखा शिविर, ३३ मोतिबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया हुने

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ८ औसी (६ साउन, २०८३, २२ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । ललितपुरको थेचोस्थित एकता एकेडेमीमा फाइट फर लाइफ नेपाल र एकता एकेडेमीको संयुक्त आयोजनामा निःशुल्क मोतिबिन्दु आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली, लायन्स क्लब अफ काठमाडौं शेष्मती, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं काइण्ड हार्ट तथा लायन्स क्लब अफ काठमाडौं मिस नेवाःको सहयोग रहेको थियो भने माट्रिका आइ सेन्टर र कान्तिपुर अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए।

hema.jpg

कार्यक्रमको अध्यक्षता एकता एकेडेमीकी प्रिन्सिपल इन्दिरा शर्माले गर्नुभएको थियो भने गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा फाइट फर लाइफ नेपालका पदाधिकारी, लायन्स क्लबका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा २०० भन्दा बढी विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले निःशुल्क आँखा परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका थिए। परीक्षणका क्रममा ३३ जना मोतिबिन्दुका बिरामी पहिचान भएका छन्। उनीहरूको माट्रिका आइ सेन्टरमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा पनि स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। संकलित रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगी संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीयवासीप्रति आयोजक फाइट फर लाइफ नेपाल र एकता एकेडेमीले आभार व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार