नेपाल सम्वत् ११४६, दिल्लाथ्वः६ षष्ठी (४ साउन, २०८३, २० जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । फिफा विश्वकप–२०२६ को उपाधि भिडन्तमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन्। उपविजेताको पदक ग्रहण गर्ने क्रममा उनका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए)ले भावुक सन्देशमार्फत आफ्ना कप्तानप्रति सम्मान र कृतज्ञता व्यक्त गरेको छ।
अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनका वैकल्पिक खेलाडी फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई दोस्रो पटक विश्वविजेता बनाए। यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो।
हारपछि एएफएले सामाजिक सञ्जाल एक्समा लेखेको सन्देशमा भनिएको छ, "तपाईंका आँसु हाम्रा पनि हुन्, कप्तान। तपाईंले हामीलाई जीवनकै सबैभन्दा ठूलो खुसी दिनुभयो। तपाईंको समर्पण, जादुई खेल र अन्तिम क्षणसम्मको संघर्षका लागि धन्यवाद। हामी तपाईंलाई सधैं माया गर्नेछौं, लियो।"
यो हारसँगै मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको गौरवपूर्ण युगको अन्त्य भएको चर्चा पनि सुरु भएको छ। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा विश्वकप उपाधि जित्दै स्वर्णिम इतिहास रचेको थियो।
फाइनलका नायक बनेका फेरान टोरेस विश्वकप फाइनलमा वैकल्पिक खेलाडीका रूपमा गोल गर्ने इतिहासका पाँचौँ खेलाडी बने। उनी सन् २०१४ मा मारियो गोट्जेपछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन्। साथै, सन् २०१० मा एन्ड्रेस इनिएस्टापछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो बार्सिलोना खेलाडी बन्न पनि सफल भए।
स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप जित्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो दबदबा पुनः स्थापित गरेको छ। युरो–२०२४ को उपाधिसमेत जितेको स्पेन अब एकैपटक युरोप र विश्व फुटबलको च्याम्पियन बनेको छ।
१९ वर्षीय लामिन यामालका लागि यो करियरकै सबैभन्दा ठूलो उपलब्धि बन्यो। प्रतियोगिताभर स्पेनले सामूहिक खेल प्रदर्शन गर्दै अपराजित यात्रा तय गर्यो। मिडफिल्डमा रोड्रीले उत्कृष्ट नियन्त्रण देखाए, मिकेल ओयार्जाबाल पाँच गोलसहित टोलीका प्रमुख गोलकर्तामध्ये रहे भने गोलकिपर उनाइ सिमोनले उत्कृष्ट प्रदर्शन गर्दै ‘गोल्डेन ग्लोभ’ जिते।
समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।
फाइनलमा स्पेनले खेलभर बल नियन्त्रणमा प्रभुत्व जमाउँदै अर्जेन्टिनालाई लक्ष्यमा केवल एक पटक प्रहार गर्ने अवसर दियो भने आफैंले १२ पटक लक्ष्यतर्फ प्रहार गर्यो। अतिरिक्त समयमा एन्जो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्दै ऐतिहासिक दोस्रो विश्वकप उपाधि आफ्नो नाममा लेखायो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij