नेपाल सम्वत् ११४६, दिल्लाथ्वः५ पञ्चमी (३ साउन, २०८३, १९ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । ४८ टोली, १०४ खेल र करिब एक महिनाको रोमाञ्चक यात्रापछि फिफा विश्वकप २०२६ आफ्नो अन्तिम मोडमा पुगेको छ। अब विश्व फुटबलको सर्वोच्च उपाधिका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्।
यो फाइनल केवल दुई टोलीबीचको उपाधि भिडन्त मात्र नभई दुई फरक पुस्ता, दुई फरक खेलशैली र दुई फुटबल दर्शनबीचको निर्णायक संघर्ष पनि हो। एकातिर लगातार दोस्रो विश्वकप जितेर इतिहास रच्ने लक्ष्यमा रहेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना छ भने अर्कोतर्फ १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्ने सपना बोकेको स्पेन छ।
लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना आठौं पटक विश्वकप फाइनल खेल्दै छ। मेसी व्यक्तिगत रूपमा अर्को ऐतिहासिक उपलब्धि थप्ने लक्ष्यमा छन् भने स्पेनका १८ वर्षीय स्टार लामिन यमाल विश्व फुटबलको नयाँ युग सुरु गर्ने अपेक्षासहित मैदान उत्रनेछन्।
युरोपियन च्याम्पियन स्पेनले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो। समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेता बन्यो।
त्यसपछि अस्ट्रियालाई ३–० ले हराएको स्पेनले पोर्चुगल र बेल्जियमलाई अन्तिम समयमा मिकेल मेरिनोले गरेका निर्णायक गोलमार्फत हरायो। सेमिफाइनलमा फ्रान्सलाई नियन्त्रणमा राख्दै स्पेनले २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो। प्रतियोगिताभर उसले केवल एक गोल मात्र बेहोरेको छ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा भने निकै कठिन रह्यो। समूह चरणका तीनै खेल जिते पनि नकआउट चरणमा प्रत्येक खेलमा उसले कडा चुनौती सामना गर्नुपर्यो।
अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै ऐतिहासिक जित निकाल्यो। क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको हो।
अब अर्जेन्टिनासँग ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसर छ।
विश्वकप इतिहासमा स्पेन र अर्जेन्टिनाबीच यसअघि केवल एकपटक मात्र भेट भएको थियो। सन् १९६६ मा भएको उक्त खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो।
दुवै टोलीबीच विश्वकप बाहिर १३ अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा छन् र टोलीका मुख्य आशा पनि उनी नै हुन्। जुलियन आल्भारेज, लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र गोलकिपर एमिलियानो मार्टिनेज पनि अर्जेन्टिनाका महत्वपूर्ण खेलाडी रहनेछन्।
स्पेनका लागि लामिन यमाल, कप्तान रोड्री, डानी ओल्मो, आयमेरिक लापोर्टे र पाउ कुबार्सी निर्णायक भूमिका खेल्न सक्छन्।
स्पेन: उनाइ सिमोन; पेड्रो पोरो, आयमेरिक लापोर्टे, पाउ कुबार्सी, मार्क कुकुरेला; रोड्री, फाबियन रुइज; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयरजाबाल।
अर्जेन्टिना: एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको; लिएन्ड्रो पारेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमियोने; लियोनल मेसी, जुलियन आल्भारेज।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij