Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मालिका गाउँपालिका : प्रकृति, संस्कृति र आस्थाले भरिएको उदीयमान पर्यटन गन्तव्य

मालिका गाउँपालिका : प्रकृति, संस्कृति र आस्थाले भरिएको उदीयमान पर्यटन गन्तव्य

म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मालिका गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीको अनुपम संगमका रूपमा उदाउँदै गएको पर्यटन गन्तव्य हो। हिमाल, ताल, डाँडा, गुफा, मन्दिर, गुराँसका वन र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई योजनाबद्ध विकास र प्रभावकारी प्रवर्द्धन गर्न सके धवलागिरि क्षेत्रकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिने स्थानीय सरोकारवालाहरूको विश्वास छ।

विश्व पर्यटन उद्योग तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा नेपाल पनि सगरमाथा, लुम्बिनी, अन्नपूर्ण र मुक्तिनाथजस्ता विश्वप्रसिद्ध गन्तव्यका कारण अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। यद्यपि, यस्ता चर्चित गन्तव्यसँगै सम्भावनाले भरिएका धेरै क्षेत्र अझै प्रचार–प्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेका छन्। तीमध्ये मालिका गाउँपालिका पनि एक हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घ, मालिका बजार एकाइका अध्यक्ष लेकबहादुर पुनका अनुसार गाउँपालिकाका सातै वडामा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरू प्रशस्त छन्। वडा नम्बर १ निस्कोटमा बराही ताल, राताम्मे गुराँसले ढाकिएका डाँडाहरू, सिद्ध (ठूल) देवता थान, भालु गुफा र स्याल गुफा रहेका छन्। वडा नम्बर २ मा दुरलेक मन्दिर, स्लेट ढुङ्गा खानी, घोडेनाच र स्टोन भिलेज विशेष आकर्षण बन्न सक्ने सम्भावना छ।

त्यसैगरी वडा नम्बर ३ मा शोले डाँडा, ट्राउट माछा पालन केन्द्र, किटेनी, दुरलेक र डाँडागाउँ रहेका छन् भने वडा नम्बर ४ मा ओखरबोट तामाखानी, दहको लेक, सोरठी तथा पुर्ख्यौली नाचले पर्यटकलाई आकर्षित गर्न सक्छन्।

वडा नम्बर ५ मा देउताभिर गुफा, हकलाङ पिकनिक स्पट, मालिका धुरी र गाईखर्क रहेका छन् भने गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ६ मा विश्व चर्चित 'भाले बास्ने ताल' र प्रसिद्ध मालिकाधुरी प्रमुख धार्मिक तथा प्राकृतिक गन्तव्य हुन्। वडा नम्बर ७ मा प्रभु चेला धुरी, मालिका मन्दिर क्षेत्र, बाइन्दाफाँट बराहताल तथा प्राविधिक शिक्षाका लागि परिचित किसानी माध्यमिक विद्यालयजस्ता स्थलले पनि पर्यटन विकासमा योगदान पुर्‍याउन सक्छन्।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार यी सम्पदाहरूलाई एकीकृत रूपमा विकास गर्न सके धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा मालिका स्थापित हुन सक्छ। तर त्यसका लागि गुणस्तरीय सडक, सुरक्षित यातायात, सूचना प्रणाली, सञ्चार सुविधा, व्यवस्थित होटल तथा होमस्टे, तालिमप्राप्त पर्यटन गाइड र प्रभावकारी प्रचार–प्रसार अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

हाल विदेशी पर्यटकहरू मालिका हुँदै धवलागिरि हिमाल आरोहणका लागि जाने गरे पनि अधिकांश पर्यटक गाउँपालिकाभित्र धेरै समय नबसी गन्तव्यतर्फ लाग्ने गरेका छन्। यसका कारण स्थानीय अर्थतन्त्रले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन। यद्यपि प्रभुचेला दर्शन तथा मालिकाधुरीमा पूजा गर्न आउने धार्मिक पर्यटकहरूको आगमन भने निरन्तर बढिरहेको स्थानीय व्यवसायीहरू बताउँछन्।

अध्यक्ष पुनका अनुसार पर्यटन र व्यापार एकअर्काका परिपूरक क्षेत्र हुन्। पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला, स्थानीय खाद्य सामग्री र कोसेली व्यवसाय स्वतः विस्तार हुने विश्वास गरिएको छ। कोभिड–१९ पछि कमजोर बनेको स्थानीय व्यापारलाई पुनर्जीवित गर्न पनि पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।

स्थानीय कला, संस्कृति र कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै बजारीकरण, कृषक तथा हस्तकलाकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन तथा आवश्यक समन्वयमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने प्रयास भइरहेको उद्योग वाणिज्य सङ्घले जनाएको छ। साथै दरवाङ–बागलुङ–रुकुम–गुर्जा हुँदै डोल्पासम्म सडक सञ्जाल विस्तार गर्न सके कर्णाली प्रदेशसम्म पुग्ने छोटो मार्ग खुल्ने र यसले पर्यटनसँगै व्यापारलाई समेत नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, सञ्चारमाध्यम, राजनीतिक दल, सुरक्षा निकाय, बुद्धिजीवी तथा प्रवासी मालिकाबासीबीचको साझा सहकार्यबाट मात्र मालिका गाउँपालिकाको पर्यटन सम्भावना वास्तविक उपलब्धिमा रूपान्तरण गर्न सकिने सरोकारवालाहरूको धारणा छ।

प्राकृतिक सम्पदा, धार्मिक आस्था, मौलिक संस्कृति र आत्मीय आतिथ्यको अद्वितीय संयोजन रहेको मालिका गाउँपालिकाले योजनाबद्ध विकास, दिगो लगानी र प्रभावकारी प्रवर्द्धन पाउन सके निकट भविष्यमा नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार