Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मेसीको अनुभव कि यमालको जोश ? विश्वकप फाइनलमा स्पेन र अर्जेन्टिनाको महासंग्राम

मेसीको अनुभव कि यमालको जोश ? विश्वकप फाइनलमा स्पेन र अर्जेन्टिनाको महासंग्राम

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः५ पञ्चमी (३ साउन, २०८३, १९ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । फिफा विश्वकप २०२६ को उपाधिका लागि युरोपेली च्याम्पियन स्पेन र विश्व विजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन्। आइतबार राति अमेरिकाको न्यु जर्सीमा हुने फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र नभई लियोनेल मेसीको अनुभव र युवा स्टार लामिने यमालको जोशबीचको बहुप्रतीक्षित भिडन्तका रूपमा पनि हेरिएको छ।

अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्दै इतिहास रच्ने लक्ष्यमा छ भने स्पेन २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा मैदान उत्रिनेछ। मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप फाइनल हुन सक्ने भएकाले सबैको नजर उनैमाथि केन्द्रित हुनेछ।

३९ वर्षीय मेसीले यस विश्वकपमा आठ गोल र चार असिस्ट गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका छन्। क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसके पनि निर्णायक असिस्टमार्फत टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। जुलियन अल्भारेज, लाउटारो मार्टिनेज र इन्जो फर्नान्डेजले पनि अर्जेन्टिनाको आक्रमणलाई मजबुत बनाएका छन्।

अर्जेन्टिनाको फाइनल यात्रा भने निकै कठिन रह्यो। केप भेर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकाल्दै टोली फाइनलमा पुगेको हो। विशेषगरी नकआउट चरणका सबै खेलमा टोलीले अन्तिम क्षणसम्म हार नमानेर पुनरागमन गर्दै जित हात पारेको छ।

उता स्पेनले भने प्रभावशाली प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ। पहिलो खेलमा गोलरहित बराबरीपछि टोलीले लगातार उत्कृष्ट खेल प्रस्तुत गर्दै उरुग्वे, साउदी अरेबिया, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधिनजिक पुगेको हो।

प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा स्पेनले बल नियन्त्रणमा आधारित आकर्षक फुटबल खेलिरहेको छ। रोड्री, पेड्री, फाबियन रुइज, मिकेल ओयरजाबाल र युवा सनसनी लामिने यमाल स्पेनका मुख्य हतियार हुन्। गोलरक्षक उनाई सिमोनले पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्।

हेड–टु–हेड तथ्यांक पनि निकै रोचक छ। स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ अन्तर्राष्ट्रिय खेल हुँदा दुवैले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा भने उनीहरूको एकमात्र भेट १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो।

अब विश्व फुटबलका समर्थकको नजर न्यु जर्सीमा हुनेछ, जहाँ एकातिर मेसी आफ्नो दोस्रो विश्वकप उपाधि उचाल्ने सपना पूरा गर्न चाहन्छन् भने अर्कोतर्फ स्पेन नयाँ पुस्ताको नेतृत्वमा विश्व फुटबलको शिखरमा पुनः फर्किने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार