Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

१६ वर्षपछि विश्वकपको फाइनलमा स्पेन, फ्रान्सलाई २–० ले हराउँदै रच्यो इतिहास

१६ वर्षपछि विश्वकपको फाइनलमा स्पेन, फ्रान्सलाई २–० ले हराउँदै रच्यो इतिहास

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप–२०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार बिहान अमेरिकाको डालास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा स्पेनले खेलभरि दबाब कायम राख्दै फ्रान्सलाई निराश बनाएको हो।

स्पेनको जितमा मिकेल ओयर्जाबल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै बल पोसेसनमा वर्चस्व जमाएको स्पेनले २२औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। डिबक्सभित्र लामिन यामालमाथि फ्रान्सका लुकास डिग्नेले फल गरेपछि प्राप्त पेनाल्टीलाई ओयर्जाबलले सहजै गोलमा परिणत गरे।

पहिलो हाफमा अग्रता बनाएको स्पेन दोस्रो हाफमा अझ आक्रामक देखियो। खेलको ५८औँ मिनेटमा डानी ओल्मोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पेड्रो पोरोले विपक्षी तीन रक्षकलाई छलाएर शानदार गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका पेड्रो पोरो 'प्लेयर अफ द म्याच' घोषित भए।

दोस्रो गोलपछि खेलमा फर्किने प्रयास गरेको फ्रान्सले केही अवसर सिर्जना गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। बल पोसेसनमा पनि पछि परेको फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भयो।

यस जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो। यसअघि स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो। अब स्पेनले उपाधिका लागि साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार