नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी व्यवस्थापन गर्ने नयाँ नीति लागू गरेको छ। नगरपालिकाले ‘शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि–२०८३’ जारी गर्दै कक्षा १ देखि ५ सम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम २० जना विद्यार्थी नभए त्यस्ता विद्यालयलाई एक तह घटुवा गर्ने व्यवस्था गरेको हो।
नगर प्रमुख अमिर मादेनका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्याअनुसार शिक्षकको उचित व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने उद्देश्यले नयाँ कार्यविधि लागू गरिएको हो। यसअन्तर्गत विषयगत शिक्षकको व्यवस्थापनसमेत गरिनेछ।
कार्यविधिअनुसार आधारभूत तह (कक्षा १–३ तथा कक्षा १–५) सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तीमा २० जना विद्यार्थी भए न्यूनतम एक शिक्षक दरबन्दी रहने व्यवस्था गरिएको छ। यस्तै, ३० जनासम्म विद्यार्थी भएका विद्यालयमा कम्तीमा दुई शिक्षक र ३१ जनाभन्दा बढी विद्यार्थी भएका विद्यालयमा न्यूनतम तीन शिक्षक रहनेछन्।
नगरपालिकाले ५१ वा सोभन्दा बढी विद्यार्थी भएका कक्षा १–५ सञ्चालन भएका विद्यालयमा आवश्यकताअनुसार थप शिक्षक दरबन्दीसमेत उपलब्ध गराउने जनाएको छ। त्यसैगरी, आधारभूत तह कक्षा ६–८ सञ्चालन भएका विद्यालयमा सम्भव भएसम्म चार जना निम्न माध्यमिक तहका शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ।
नयाँ कार्यविधिअनुसार प्रत्येक सामुदायिक विद्यालयमा कम्तीमा एक बाल विकास केन्द्र सञ्चालन गरिनेछ भने त्यसका लागि एक जना बाल विकास सहयोगी कार्यकर्ता पनि अनिवार्य रूपमा व्यवस्था गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको विश्वास छ कि विद्यार्थी सङ्ख्याअनुसार शिक्षक व्यवस्थापन र विद्यालयको पुनर्संरचनाले शैक्षिक स्रोतको सदुपयोग हुनुका साथै शिक्षण–सिकाइको गुणस्तर सुधार गर्न मद्दत पुग्नेछ। साथै, विद्यालयमा शिक्षकको असन्तुलित वितरणलाई व्यवस्थित गर्दै सबै विद्यार्थीलाई प्रभावकारी शिक्षा उपलब्ध गराउने लक्ष्यसमेत यस नीतिले लिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij