Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

१४ वर्षपछि ब्युँतिँदै हेटौँडा कपडा उद्योग, दुई महिनाभित्र परीक्षण उत्पादन

१४ वर्षपछि ब्युँतिँदै हेटौँडा कपडा उद्योग, दुई महिनाभित्र परीक्षण उत्पादन

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । करिब १४ वर्षअघि खारेजीमा परेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको दिशामा अघि बढेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा पुनर्जीवित गर्ने लक्ष्यसहित परीक्षण उत्पादनको प्रारम्भिक तयारी सुरु गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परीक्षण उत्पादनपछि विस्तृत योजना तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

कानुनी रूपमा २०६९ सालमा खारेज गरिएको उद्योगलाई पुनः सञ्चालन गर्ने उद्देश्यले मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले स्थलगत अध्ययन सम्पन्न गरी आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइसकेको छ। कार्यदलले तत्काल परीक्षण उत्पादन सुरु गर्दै त्यसको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत गरेको छ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको अवस्था, मेसिन, पूर्वाधार तथा उत्पादन क्षमता अध्ययन गरेको थियो। प्रतिवेदनअनुसार अहिलेका लागि पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु गर्ने र त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर उद्योगको भविष्यबारे निर्णय गर्ने प्रस्ताव गरिएको छ।

सरकारको निर्देशनअनुसार नेपाली सेनाको प्राविधिक उत्पादन निर्देशनालयले उद्योगमा परीक्षण उत्पादनको तयारी सुरु गरिसकेको छ। सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएर सरसफाइ, मेसिन मर्मत तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्ने काममा जुटेको छ। मन्त्रालयका अनुसार आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको परियोजना भएकाले यसको पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। उहाँले कार्यदलले दिएको सुझावअनुसार निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, बजेट र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यदलका संयोजक तथा महाशाखा प्रमुख रामबन्धु सुवेदीका अनुसार नेपाली सेनाले उद्योगका मेसिन खोलेर परीक्षण, मर्मत तथा सानो स्तरमा उत्पादन परीक्षणको काम सुरु गरिसकेको छ। परीक्षण उत्पादन सफल भएमा त्यसको आधारमा उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरिनेछ।

परीक्षण उत्पादनलाई गति दिन सरकारले आवश्यक बजेट पनि उपलब्ध गराएको छ। उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। उक्त रकमबाट मेसिन मर्मत, कच्चा पदार्थ खरिद तथा अन्य प्रारम्भिक तयारीका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यस्तै, उद्योगको भवन तथा अन्य भौतिक पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ लागत अनुमान तयार गरेको छ। सोहीअनुसार भवन मर्मत तथा आवश्यक संरचनाको सुधार गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयले लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गर्ने काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार परीक्षण उत्पादनबाट प्राप्त अनुभव र प्राविधिक मूल्याङ्कनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। त्यसपछि आवश्यक कानुनी, नीतिगत तथा वित्तीय व्यवस्था मिलाएर उद्योगलाई आधुनिक प्रविधिसहित पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको योजना रहेको छ।

कुनै समय नेपालको औद्योगिक विकासको प्रतीक मानिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएमा स्वदेशमै कपडा उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना, आयात प्रतिस्थापन र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारले परीक्षण उत्पादन सफल बनाएर उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारीलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार