नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीले भारत, थाइल्यान्ड, सिङ्गापुरलगायत मुलुक धाउनुपर्ने अवस्था थियो। उपचारका लागि करोडौँ रुपैयाँ खर्चिनुपर्ने, महिनौँ विदेश बस्नुपर्ने र परिवारले ठूलो आर्थिक तथा मानसिक बोझ व्यहोर्नुपर्ने बाध्यता अहिले धेरै हदसम्म अन्त्य भएको छ। पछिल्लो एक दशकमा नेपालमै कलेजो प्रत्यारोपण सेवा विस्तार भएसँगै नेपाली चिकित्सकले आफ्नै नेतृत्वमा जटिल शल्यक्रिया सफलतापूर्वक गर्न थालेका छन्।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ मङ्सिर २२ गते नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएको थियो। केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो प्रत्यारोपण दक्षिण कोरियाली विशेषज्ञको सहकार्यमा सम्पन्न भएको थियो। त्यसयता केन्द्रले हालसम्म ३७ जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको छ।
डा. श्रेष्ठका अनुसार नेपालले कलेजो प्रत्यारोपणमा उल्लेखनीय सफलता हासिल गरे पनि अझै केही चुनौती बाँकी छन्। अङ्गदान गर्ने व्यक्तिको अभाव, मस्तिष्क मृत्युपछि हुने अङ्गदानको न्यून दर, प्रत्यारोपणपछि जीवनभर सेवन गर्नुपर्ने महँगा औषधिको खर्च र सीमित सेवा प्रमुख चुनौतीका रूपमा रहेका छन्। उहाँले अङ्गदानसम्बन्धी जनचेतना विस्तार, प्रभावकारी स्वास्थ्य बिमा प्रणाली र प्रत्यारोपणपछिको औषधि सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
वरिष्ठ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले नेपालले कलेजो प्रत्यारोपणमा ठूलो फड्को मारेको बताउँदै सरकारीस्तरमा निरन्तर सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार हाल मानव अङ्ग प्रत्यारोपणसम्बन्धी समिति नहुँदा पनि केही प्रशासनिक समस्या देखिएको छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको औसत प्याकेज खर्च करिब १५ लाख रुपैयाँ पर्ने भए पनि औषधि, परीक्षण तथा अन्य उपचार खर्च जोड्दा पाँचदेखि १० लाख रुपैयाँसम्म थप खर्च हुन सक्छ।
यता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २०७६ जेठ १७ गतेदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको हो। पहिलो शल्यक्रियामा छोरीले आफ्ना बुबालाई कलेजो दान गरेर सफल प्रत्यारोपण गरिएको थियो। अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीका अनुसार हालसम्म अस्पतालमा २६ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ।
उहाँका अनुसार सुरुका १० वटा प्रत्यारोपण विदेशी विशेषज्ञको सहयोगमा गरिएको भए पनि त्यसपछिका १६ वटा प्रत्यारोपण नेपाली चिकित्सककै नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएका छन्। २०८० सालदेखि नेपाली चिकित्सकले विदेशी विशेषज्ञको प्रत्यक्ष संलग्नताबिनै कलेजो प्रत्यारोपण गर्न थालेका हुन्।
डा. भण्डारीका अनुसार अस्पतालमा शल्यक्रियाको शुल्क करिब पाँच लाख रुपैयाँ भए पनि औषधि, परीक्षण र अस्पताल बसाइका कारण बिरामीले कुल ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ। सरकारले मिर्गौला र क्यान्सरका बिरामीलाई जस्तै कलेजो प्रत्यारोपणका बिरामीलाई पनि थप सहुलियत दिनुपर्ने उहाँको सुझाव छ।
हाल नेपालमा सरकारी स्तरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिरहेका छन्। यी दुई संस्थामार्फत हालसम्म कुल ६३ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ, जसले नेपालमा अत्याधुनिक स्वास्थ्य सेवाको विकाससँगै हजारौँ बिरामीका लागि नयाँ आशा जगाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij