नेपाल सम्वत् ११४६, तछलागाः १४ औशी (३० अषाढ, २०८३, १४ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर गुठी व्यवस्थापन समितिले भीमेश्वर मन्दिर परिसरभित्र सार्वजनिक स्थान ओगटेर सञ्चालन हुँदै आएका व्यापार–व्यवसाय तत्काल हटाउन पुनः कडा निर्देशन दिएको छ। पटक–पटक सूचना जारी गर्दा पनि सार्वजनिक स्थान अतिक्रमण गरी व्यापार सञ्चालन भइरहेको भन्दै समितिले सम्बन्धित सबै व्यवसायीलाई निर्धारित समयभित्र स्थान खाली गर्न आग्रह गरेको हो।
समितिले २०८३ अषाढ २८ गते जारी गरेको सूचनामा भीमेश्वर नगरपालिका–२ को २०७९ पुस १५ गतेको निर्णय तथा २०८२ वैशाख १ गतेदेखि सार्वजनिक स्थानमा कुनै पनि प्रकारको व्यापार–व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्थालाई कार्यान्वयन गर्न यसअघि नै सूचना जारी गरिएको स्मरण गराएको छ।
समितिका अनुसार २०७९ पुस ३० गते नै मन्दिर परिसरभित्र सार्वजनिक स्थानमा व्यापार गरिरहेका व्यवसायीलाई स्थान खाली गर्न पहिलोपटक आग्रह गरिएको थियो। त्यसयता पनि व्यवसाय सञ्चालन नगर्न तथा सार्वजनिक स्थान अतिक्रमण नगर्न पटक–पटक मौखिक तथा लिखित रूपमा अनुरोध गरिए पनि केही व्यक्तिले अझै सार्वजनिक स्थल ओगटेर व्यापार गरिरहेको पाइएको जनाएको छ।
समितिले सार्वजनिक सम्पत्ति अतिक्रमण गरी गरिने व्यापार–व्यवसायले मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वमा असर पुग्नुका साथै मन्दिर क्षेत्रको व्यवस्थापनमा समेत समस्या सिर्जना भएको उल्लेख गरेको छ। यस अवस्थाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक स्थान खाली गराउने निर्णय कार्यान्वयनमा जाने स्पष्ट गरेको छ।
यसैबीच, २०८३ अषाढ २७ गते बसेको गुठी व्यवस्थापन समितिको बैठकले मन्दिर परिसरका सार्वजनिक स्थान अनिवार्य रूपमा खाली गराउने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय दोलखा, भीमेश्वर नगरपालिका–२ को कार्यालय तथा इलाका प्रहरी कार्यालय, भीमेश्वर दोलखालाई समेत बोधार्थ पठाइएको समितिले जनाएको छ।
समितिले सूचना प्राप्त भएपछि पनि सार्वजनिक स्थानलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिरहेकाहरूलाई २०८३ साउन १ गतेभित्र (सूचनामा उल्लेखित मितिअनुसार) सार्वजनिक स्थान खाली गरी मन्दिर परिसरलाई व्यवस्थित, स्वच्छ र मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने संकेत पनि सूचनामा गरिएको छ।
दोलखाको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा रहेको भीमेश्वर मन्दिरमा दैनिक सयौं भक्तजन तथा आन्तरिक एवं बाह्य पर्यटक पुग्ने गर्दछन्। मन्दिर परिसरलाई व्यवस्थित, सफा र अवरोधरहित बनाउने उद्देश्यले सार्वजनिक स्थानमा अनधिकृत रूपमा सञ्चालन भइरहेका व्यापार–व्यवसाय हटाउने अभियानलाई समितिले निरन्तरता दिएको जनाएको छ।
उक्त सूचना भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरी जारी गरेका हुन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij