Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सरकार र पार्टी सञ्चालनबारे शाह–लामिछानेबीच उच्चस्तरीय छलफल

सरकार र पार्टी सञ्चालनबारे शाह–लामिछानेबीच उच्चस्तरीय छलफल

नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालन तथा पार्टीको संगठन विस्तारका विषयमा छलफल भएको छ। भेटमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनलगायत संगठनलाई पूर्णता दिने विषयमा समेत परामर्श भएको बताइएको छ।

रास्वपाका पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच सरकार र पार्टी सञ्चालनका विषयमा नियमित रूपमा छलफल हुने गरेको छ। उहाँले पछिल्लो भेट पनि नियमित परामर्शकै निरन्तरता भएको उल्लेख गर्नुभयो।

प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि रास्वपाले संगठनलाई केन्द्रदेखि वडा तहसम्म सुदृढ बनाउने अभियानलाई तीव्र बनाएको छ। असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनले पार्टीभित्र नयाँ उत्साह र आत्मविश्वास थपिएको नेताहरूको भनाइ छ।

महाधिवेशनमा आर्थिक विकास, सुशासन, राजनीतिक स्थायित्व र संगठनात्मक सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो। पारित दस्तावेजमार्फत पार्टीले आगामी रणनीतिक कार्यदिशा तय गर्दै संगठनलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ।

पूर्वमहामन्त्री बुर्लाकोटीले अब रास्वपा संगठन विस्तारसँगै नागरिकका दैनिक समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो। उहाँका अनुसार गाउँ–गाउँ पुगेर जनताका आवाज सुन्ने र जनअपेक्षाअनुसार काम गर्ने पार्टीको प्राथमिकता हुनेछ।

केन्द्रीय सदस्य इन्दिरा रानामगरले महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा र भावनात्मक एकता सिर्जना गरेको बताउँदै यसलाई संगठन सुदृढीकरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।

यस्तै, प्रवास विभाग प्रमुख भूपाल भण्डारीले विदेशमा रहेका नेपालीलाई पार्टीको मूलधारमा जोड्न प्रवास संगठनलाई ‘आठौँ प्रदेश’को मान्यता दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार अनलाइन मतदानको व्यवस्था र प्रवासी नेपालीको प्रतिनिधित्वले संगठनलाई थप समावेशी र सशक्त बनाएको छ।

रास्वपाले महाधिवेशनपछि संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन ‘संसदीय क्षेत्र विकास तथा समन्वय बोर्ड’ गठन गर्ने तयारी पनि अघि बढाएको छ। पार्टी नेतृत्वले नयाँ संरचना र संगठनात्मक अभ्यासमार्फत जनविश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार