Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीम पुस्तकालयको आजीवन सदस्य बनिन् जानकी कर्माचार्य

भीम पुस्तकालयको आजीवन सदस्य बनिन् जानकी कर्माचार्य

नेपाल सम्वत् ११४६, तछलागाः ७ सप्तमी (२३ अषाढ, २०८३, ०७ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । भीम पुस्तकालयको कोषमा रु. ५ हजार आर्थिक सहयोग प्रदान गर्दै जानकी कर्माचार्य पुस्तकालयको आजीवन सदस्य बनेकी छन्। पुस्तकालयले उहाँलाई आजीवन सदस्य नं. ८२ प्रदान गर्दै उहाँको सहयोग, समर्पण र पुस्तकालयप्रतिको निरन्तर सद्भावप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ।

भीम पुस्तकालय परिवारका अध्यक्ष रत्नबहादुर श्रेष्ठका अनुसार कर्माचार्यले आर्थिक सहयोग मात्र नभई पुस्तकालयको संरक्षण, पुनर्निर्माण र दीर्घकालीन विकासका विषयमा निरन्तर चासो, सुझाव र प्रेरणा प्रदान गर्दै आएकी छन्। विशेषगरी पुस्तकालय बन्द रहेको कठिन समयमा पनि उहाँले यसको संरक्षणका लागि सम्बन्धित निकाय, सरोकारवाला संस्था तथा समुदायको ध्यानाकर्षण गराउने प्रयासलाई निरन्तरता दिनुभएको थियो।

पुस्तकालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पन्ध्रौँ पुस्तकालय दिवसको अवसरमा प्रकाशित स्मारिकामा कर्माचार्यले ‘संरक्षणको पर्खाइमा भीम पुस्तकालय’ शीर्षकको लेख लेख्दै पुस्तकालयको ऐतिहासिक, शैक्षिक र सामाजिक महत्व उजागर गर्नुभएको थियो। उक्त लेखमार्फत उहाँले पुस्तकालयको जीर्णोद्धार, संरक्षण तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पुस्तकालयले जनाएको छ।

पुस्तकालयले कर्माचार्यको बौद्धिक योगदान र सक्रियताले भीम पुस्तकालयको संरक्षण अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको उल्लेख गरेको छ। उहाँको पहलले पुस्तकालयको अवस्थाबारे व्यापक रूपमा जानकारी फैलिनुका साथै यसको संरक्षणप्रति सरोकारवालाको चासो बढाउन सकारात्मक प्रभाव परेको विश्वास पुस्तकालय परिवारको छ।

पुस्तकालय परिवारले जानकी कर्माचार्यको आर्थिक सहयोग, सद्भाव, बौद्धिक योगदान तथा पुस्तकालयप्रतिको समर्पणप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि पुस्तकालयको संरक्षण, विकास र सुदृढीकरण अभियानमा उहाँको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

ऐतिहासिक तथा शैक्षिक महत्व बोकेको भीम पुस्तकालयलाई संरक्षण गर्दै आगामी पुस्तासम्म यसको ज्ञान र सम्पदालाई हस्तान्तरण गर्ने अभियानमा समुदाय, शुभेच्छुक, आजीवन सदस्य तथा विभिन्न निकायको सहकार्य अपरिहार्य रहेको अध्यक्ष श्रेष्ठ जानकारी दिनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार