Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

भक्तपुर अस्पतालमा मेरुदण्ड र घुँडा प्रत्यारोपणको जटिल शल्यक्रिया सफल

भक्तपुर अस्पतालमा मेरुदण्ड र घुँडा प्रत्यारोपणको जटिल शल्यक्रिया सफल

नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । भक्तपुर अस्पताल ले जटिल हाडजोर्नी तथा ट्रमा उपचार सेवामा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। अस्पतालले मेरुदण्ड (स्पाइनल फ्र्याक्चर) भाँचिएका एक बिरामीको सफल शल्यक्रिया गर्नुका साथै यसै साता एक महिलाको घुँडा प्रत्यारोपण शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झा का अनुसार ४२ वर्षीय एक पुरुष दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेर उपचारका लागि अस्पताल भर्ना भएका थिए। विस्तृत परीक्षणबाट मेरुदण्डमा फ्र्याक्चर भएको पुष्टि भएपछि स्पाइनल स्टेबिलाइजेसन शल्यक्रिया गरिएको हो।

शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र चिकित्सकहरूको नियमित निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

उक्त शल्यक्रियाको नेतृत्व अर्थोपेडिक शल्यचिकित्सक डा. मधु पाण्डे ले गर्नुभएको थियो। शल्यक्रियामा डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा. रोशन ग्वाछा सहभागी थिए।

यसअघि पनि डा. मधु पाण्डेको नेतृत्वमा ५८ वर्षीया एक महिलाको घुँडा प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो। लामो समयदेखि घुँडाको जोर्नी खिइने समस्याबाट पीडित ती बिरामीको स्वास्थ्य अवस्था शल्यक्रियापछि सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। दुवै बिरामी भक्तपुर जिल्लाकै निवासी हुन्।

अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठ ले मेरुदण्ड तथा घुँडा प्रत्यारोपणजस्ता जटिल शल्यक्रियाको सफलताले अस्पतालको विशेषज्ञ सेवा, शल्यक्रिया क्षमता र जटिल ट्रमा बिरामीको सुरक्षित उपचार गर्ने दक्षता थप सुदृढ भएको बताउनुभयो।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले यस्ता सफल शल्यक्रियाले अस्पतालप्रतिको बिरामीको विश्वास अझ बढेको र आगामी दिनमा जटिल हाडजोर्नी तथा ट्रमा सेवाको थप विस्तार गर्न उत्साह र आत्मविश्वास मिलेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार