नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दै छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्। अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक प्रतिनिधिसभामा औपचारिक रूपमा दर्ता गर्नेछिन्।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बैंकिङ क्षेत्रको नियमन र वित्तीय सुधारसँग सम्बन्धित भएकाले यो विधेयकलाई विशेष चासोका साथ हेरिएको छ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धिमाथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ माथि संसद्मा विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
आजको बैठकमा विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू अघि बढ्ने भएकाले संसद्को कार्यसूचीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij