Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

द्वाल्खा, तिम्रो सम्झनामा — २

द्वाल्खा, तिम्रो सम्झनामा — २

बाँसघारीमा लुकामारी खेल्दा,
बाल्यकाल हाँसो बनेर दौडिन्थ्यो।
आँगनमा राखेको परालको कुन्यूमा
झ्यालबाट हाम फाल्दा,
डरभन्दा रमाइलो ठूलो लाग्थ्यो।


काठमाडौंबाट आफन्त आउँदा,
चकलेट पाइन्छ कि भनेर
पछि–पछि कुदेका ती दिनहरू,
कति साना चाहना थिए,
तर मनभरि ठूलो खुसी भरिन्थ्यो।


भीमसेन र महाकाली मन्दिरमा
घण्टी बजाएर पूजा गरेको सम्झना,
प्रसाद हातमा पर्दा
भगवान् नै नजिकै छन् जस्तो लाग्थ्यो,
त्यो आस्था पनि
बाल्यकालझैँ निर्मल थियो।


थोत्रो रेडियोमा गीत बज्दा,
सिंगाने भाइसँग अन्ताक्षरी खेलेको पल,
कहिले सुर मिल्थ्यो, कहिले बिग्रिन्थ्यो,
तर त्यही बिग्रिएको सुरभित्र पनि
घरको न्यानो संगीत थियो।


थरीथरीका काठाबरी बनाएर
आफ्नै भविष्य कल्पना गर्दा,
सपना पनि माटोको गन्धजस्तै सरल थिए।


राजकुलेश्वर र भीमेश्वर स्कूलमा
क, ख, एबीसी र एक–दुई–तीन सिक्दा,
गुरुहरूको आवाजले
जीवनको पहिलो बाटो देखायो।


इन्द्रजात्रा, खड्गजात्रा र लाखे नाचमा
बाजा बज्दै गल्ली–गल्ली गुन्जिँदा,
मच्छिन्द्रनाथको रथ घुमाउँदा,
दोलखा आफैँ उत्सव बनेर नाच्थ्यो,
हाम्रो बालमन पनि
त्यही जात्राको धुनमा रमाउँथ्यो।


काली थमिनीसँग मितेनी लगाएर
माया साटेको त्यो बालस्नेह,
संगिनीहरूसँग पढाइ छोडेर
फोटो खिच्ने बहानामा
चरिकोटमा लुकी–लुकी फिल्म हेरेको क्षण,
आज सम्झिँदा हाँसो पनि आउँछ,
मन पनि भिज्छ।


सूर्यको पहिलो किरणसँगै
गौरीशंकर र तामाकोशी हेर्दा,
मन कति फराकिलो हुन्थ्यो।
कालिञ्चोक घुम्न जाँदा
साँच्चै संसार जितेझैँ लाग्थ्यो,
डाँडामाथि उभिँदा


सपना पनि आकाशजस्तै अग्ला हुन्थे।
धामी–झाँक्रीको झारफुक र नाच,
डाक्टरको सुई, वैद्यको ओखती,
सबै कुरामा विश्वास थियो,
सबै कुरामा डर पनि थियो।
तर त्यही डर र विश्वासबीच
गाउँको जीवन आफ्नै लयमा बग्थ्यो।


चौठीको रातमा
काँक्रो र आरु चोरेर खाएको दिन,
चिउरा र गहुँको जाँड
खल्तीमा राखेर हिँडेको बालचञ्चलता,
आज सम्झिँदा लाग्छ—
त्यो चोरी पनि अपराध थिएन,
बाल्यकालको नटखट मिठास थियो।

 

देउचमारी पूर्णेमा साथीसँगीहरूसँग
देउसी–भैली खेल्दै हिँडेको रात,
सयपत्री र मखमलीको माला लगाएर
भाइपूजामा माया साटेको दिन,
सेल खाँदै ब्याहार्छे घुमेको पल,
दोलखाको घर–आँगनभरि
स्नेहको बत्ती बलेको जस्तो लाग्थ्यो।

दशैंमा जमरा लगाएर
पिङ खेल्न झुमेको दिन,
आफूले भनेको नपाउँदा
लडीबुडी गरेका ती बालहठ,
आज सम्झिँदा लाग्छ—
त्यो रिस पनि माया थियो,
त्यो रोदन पनि अपनत्व थियो।


खाली खुट्टा गहुँ–मकै बोकेर
सुष्पाको घट्ट पुग्दा,
ढुंगाको बाटोले खुट्टा दुखाउँथ्यो।
तर पिठो पिसेर फर्किँदा
घरको चुलो सम्झेर मन रमाउँथ्यो,
मितबाको घरमा मिठो खाना खाएको क्षण
अझै जिब्रोमा स्वाद बनेर बसेको छ।


वर्षादमा स्कूल जाँदा,
वनपाखा चढ्दा–ओर्लँदा,
चिप्लेर लड्दै फेरि उठेका दिनहरू,
दोलखाले नै सिकायो—
लड्नु जीवनको अन्त्य होइन,
उठ्नु नै जीवनको असली पाठ हो।


दिदी–दाइ र आफन्तहरूको बिहेमा
भोज खाँदै रमाएको दिन,
नयाँ लुगा, भीडभाड, बाजागाजा,
सबै कुरा पर्वजस्तै लाग्थ्यो।
तर आफन्तको बियोगमा
बलिन्द्रधारा आँसु बग्दा,
पितृप्रसाद हातमा लिएर
जीवनको अर्को सत्य पनि बुझिन्थ्यो।

दोलखा,
तिमी केवल जन्मभूमि होइनौ,
तिमी मेरो पहिलो पाठशाला हौ,
मेरो पहिलो आकाश हौ,
मेरो पहिलो दुःख,
मेरो पहिलो खुसी,
मेरो पहिलो कविता हौ।
तिमीले मलाई हाँस्न सिकायौ,
रुन पनि सिकायौ,
उत्सव मनाउन सिकायौ,
बिछोड सहन पनि सिकायौ।


आज टाढा छु,
तर तिमीबाट छुटेको छैन,
किनकि मेरो सासमा अझै
तिम्रो माटोको गन्ध छ,
मेरो आँखामा अझै
तिम्रो डाँडाकाँडाको हरियाली छ।
तिम्रो याद आउँदा, दोलखा,


म फेरि सानो बच्चा बन्छु—
उकाली चढ्दै, ओराली झर्दै,
मकै बोकेर, पानीमा भिजेर,
आमाको पछिपछि हिँड्दै,

बज्यैका कथा सुन्दै।


म फेरि त्यही बाँसघारीमा हराउँछु,
त्यही परालको कुन्यूमा हाम फाल्छु,
त्यही मन्दिरको घण्टी बजाउँछु,
त्यही रेडियोको गीत सुन्छु,
त्यही जात्राको बाजामा नाच्छु,
त्यही पिङमा झुल्छु,
त्यही घट्टको बाटो हिँड्छु।


किनकि दोलखा,
तिमी मेरो बाल्यकाल मात्र होइनौ,
तिमी मेरो हाँसो हौ,
मेरो आँसु हौ,
मेरो संस्कार हौ,
मेरो सपना हौ।
तिमी मेरो स्मृति हौ,
मेरो जरा हौ,
मेरो आत्माको पहिलो उज्यालो हौ,
र जीवनभरि नबिर्सिने
सबैभन्दा मीठो सम्झना हौ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार