Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

पुस्तकालयले फेरिदियो सानेको जीवन

पुस्तकालयले फेरिदियो सानेको जीवन

घरको आर्थिक अवस्था निकै कमजोर थियो। त्यसैले सानेको विद्यालय जाने सपना अधुरै थियो। साथीहरू विद्यालय गएको देख्दा ऊ टोलाएर हेर्थ्यो, तर आफ्नो भाग्यलाई दोष दिँदै घरबारीको काममै जुट्थ्यो। उसका आँखामा पढ्ने ठूलो चाहना थियो, तर आमाबुबाको विवशताले त्यो चाहना पूरा हुन सकेको थिएन।

आमाबुबालाई पनि आफ्ना छोरा निकै तेज र जिज्ञासु छ भन्ने राम्रोसँग थाहा थियो। तर गरिबीले उनीहरूलाई लाचार बनाएको थियो। छोरालाई विद्यालय पठाउने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावले त्यो सम्भव भएको थिएन।

केही महिनायता भने सानेमा अनौठो परिवर्तन देखिन थालेको थियो। ऊ बिहान सबेरै उठेर घाँसपात काट्न जान्थ्यो, छिट्टै फर्किएर घरको काम सक्थ्यो र हतार–हतार केही खाएर गाउँतिर दौडिन्थ्यो। उसको अनुहारमा पहिलेको उदासी हराइसकेको थियो। ऊ सधैं खुसी देखिन्थ्यो। छोराको यो परिवर्तन देखेर आमाबुबा पनि दङ्ग पर्थे।

एक दिन भदौ महिनाको घाम लागेको बिहान थियो। बूढाबूढीले आँगनमा मकै सुकाइरहेका थिए। साने बिहानै निस्किएको थियो। जाँदा उसले भनेको थियो, “आज गुरुको जन्मदिन छ।” बुबाले हाँस्दै भने, “खेल्ने गुरुको पनि जन्मदिन मनाइन्छ र!”

यत्तिकैमा बाटोबाट केही मानिसहरू सानेसँगै घरतिर आइरहेका देखिए। सानेको घाँटीमा फूलको माला थियो, काँधमा खादा ओढाइएको थियो, हातमा पुस्तक, कापी र एउटा प्रमाणपत्र थियो। यो दृश्य देखेर आमाबुबा अचम्ममा परे।

नजिकै आएपछि तीमध्ये एक जना मुस्कुराउँदै बोले, “बधाई छ! तपाईंहरूको छोरा निकै प्रतिभाशाली रहेछन्। आर्थिक अभावका कारण विद्यालय जान नपाए पनि पढ्ने इच्छा भने कहिल्यै मरेन। केही महिनाअघि गाउँलेहरूको पहलमा स्थापना भएको सामुदायिक पुस्तकालयमा उनी नियमित आउन थाले। पुस्तकहरू पढ्दै, सिक्दै जाँदा अहिले धेरै ज्ञान हासिल गरिसकेका छन्।”

उनले थपे, “हामीले पुस्तकालयमा साना बालबालिकाका लागि अध्ययन कक्षा पनि सञ्चालन गरेका छौँ। सानेले ती नानीहरूलाई पढाउन सहयोग गर्दै आएका छन्। अब उनलाई पढाइसँगै केही जिम्मेवारी पनि दिइनेछ, जसबाट उनको अध्ययन पनि निरन्तर हुनेछ।”

आमाबुबाको आँखामा खुसीका आँसु टिलपिलाउन थाले। उनीहरू छोराको हातमा रहेका पुस्तक र कापी हेर्दै थिए, तर खुसीले शब्द नै निस्कन सकेन।

त्यसपछि ती आगन्तुकले फेरि भने, “आज भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस हो। नियमित रूपमा पुस्तकालयमा अध्ययन गर्ने उत्कृष्ट पाठकका रूपमा सानेलाई यस वर्ष सम्मान गरिएको हो। सरकारले पनि यस वर्षदेखि उत्कृष्ट पाठकलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने व्यवस्था गरेको छ।”

यति भन्दै उनले एक हजार रुपैयाँ आमाबुबाको हातमा राखिदिए।

आमाबुबाले थरथर काँप्दै त्यो रकम लिए। उनीहरूका आँखाबाट खुशीका आँसु निरन्तर बगिरहेका थिए। उनीहरूले छोरालाई अँगालो हाल्दै मनमनै सोचे—गरिबीले विद्यालयको ढोका बन्द गरिदिएको थियो, तर पुस्तकालयले ज्ञानको संसार खुला गरिदियो।

त्यस दिन सानेले पुरस्कार मात्र पाएन, उसले आफ्नो भविष्यतर्फ जाने नयाँ बाटो पनि भेट्टायो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार