Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

२६औँ वार्षिकोत्सवमा ‘सिनेपा’ एप सार्वजनिक

२६औँ वार्षिकोत्सवमा ‘सिनेपा’ एप सार्वजनिक

चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा बोर्डले नेपाली चलचित्र उद्योगलाई डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको ‘सिनेपा’ एप सार्वजनिक गर्नुका साथै सात करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रको आधिकारिक सूची पनि पहिलोपटक सार्वजनिक गरेको छ।

मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी भए भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए।

कार्यक्रमको सुरुआत सदस्य–सचिव राजेश कुमार थापाको स्वागत मन्तव्यबाट भएको थियो। उनले बोर्डले नेपाली चलचित्र क्षेत्रको संस्थागत विकास, चलचित्र अभिलेखीकरण, डिजिटल सेवा विस्तार, चलचित्रकर्मीको हित संरक्षण तथा नयाँ सिर्जनात्मक परियोजनाको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। चलचित्र उद्योगलाई समयानुकूल, व्यवस्थित र प्रतिस्पर्धी बनाउन बोर्डले नीति, प्रविधि र सेवामा सुधार गर्दै आएको उनको भनाइ थियो।

समारोहलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली चलचित्र उद्योग कला, संस्कृति, भाषा र पर्यटन प्रवर्द्धनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। उनले चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै उद्योगको दिगो विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले चलचित्र विकास बोर्डलाई चलचित्र उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिहरू तयार गर्दा चलचित्रकर्मी, निर्माता, निर्देशक तथा प्राविधिकहरूको सुझावलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सार्वजनिक गरिएको ‘सिनेपा’ एपले नेपाली चलचित्रसम्बन्धी सूचना, चलचित्रको अभिलेख, कलाकार तथा प्राविधिकको विवरण, प्रदर्शनसम्बन्धी जानकारी तथा अन्य सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने बोर्डले जनाएको छ। मन्त्री तिमिल्सिनाले एपको औपचारिक शुभारम्भ गर्दै डिजिटल प्रविधिको प्रयोगले नेपाली चलचित्र उद्योगलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे।

यसै अवसरमा बोर्डले आफ्नो वार्षिक गतिविधि समेटिएको ‘शब्दचित्रमा चलचित्र बोर्डका गतिविधि’ तथा ‘सिनेपा’ पुस्तकको समेत विमोचन गरेको छ। बोर्डका अनुसार यी प्रकाशनहरूले नेपाली चलचित्रको इतिहास, संस्थागत विकास, अभिलेखीकरण तथा अनुसन्धानका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा काम गर्नेछन्।

वार्षिकोत्सवका अवसरमा बोर्डका दुई कर्मचारीलाई उत्कृष्ट सेवा र योगदानका आधारमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, स्टोरी बोर्डबाट छनोट भएको चलचित्र ‘सुरिलो रुख’ लाई निर्माण सहायतास्वरूप चार लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। नयाँ पुस्ताका चलचित्रकर्मी तथा मौलिक कथामा आधारित परियोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने बोर्डले जनाएको छ।

समारोहको सबैभन्दा चर्चित कार्यक्रममध्ये एक चलचित्र विकास बोर्ड स्थापना भएयता २६ वर्षको अवधिमा सात करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रको सूची सार्वजनिक गर्नु रह्यो। बोर्डका अनुसार नेपाली चलचित्र उद्योगको व्यावसायिक इतिहासलाई अभिलेखीकरण गर्ने उद्देश्यले पहिलोपटक यस्तो सूची तयार गरिएको हो।

सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘महाजात्रा’, ‘महापुरुष’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’ तथा ‘छक्का पन्जा’ शृंखलासहितका व्यावसायिक रूपमा सफल चलचित्र समावेश छन्। बोर्डले यस्ता तथ्याङ्कले चलचित्र उद्योगको बजार विस्तार, व्यावसायिक अवस्था र दर्शकको रुचि अध्ययन गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ अन्तर्गत विभिन्न कारणले वितरण हुन नसकेका केही सम्मान पनि प्रदान गरिएको बोर्डले जनाएको छ।

वार्षिकोत्सवमा चलचित्र क्षेत्रसँगै साहसिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका चलचित्रकर्मीलाई विशेष सम्मान गरिएको थियो। २५ वर्षभित्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अभिनेत्री निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य तथा मेकअप आर्टिस्ट निलम पौडेललाई सम्मान गरिएको हो। बोर्डले चलचित्र क्षेत्रका व्यक्तित्वले सिर्जनासँगै साहस, अनुशासन र प्रेरणाको उदाहरण प्रस्तुत गरेको भन्दै उनीहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाएको छ।

यसै अवसरमा लघु चलचित्र तथा वृत्तचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। बोर्डका अनुसार यस्ता प्रतियोगिताले नयाँ पुस्ताका चलचित्रकर्मीलाई प्रोत्साहन गर्नुका साथै वैकल्पिक विषयवस्तु, भाषिक विविधता र मौलिक कथावस्तु भएका चलचित्र निर्माणलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

समारोहमा विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्रसमेत वितरण गरिएको थियो। विशिष्ट श्रेणीमा ऋषि लामिछाने, गोविन्द राई, बाबु साहेब बलामी, विनोद कुमार भट्टराई र विनोद प्रसाद मानन्धरलाई परिचयपत्र प्रदान गरिएको थियो। विशेष श्रेणीमा उपासना सिंह, रेखा शर्मा, खगेन्द्र प्रसाद लामिछाने, दयाहाङ राई, दिपेन्द्र के. खनाल, प्रदीप भट्टराई, पुष्प खड्का, विजय बराल, बेनिशा हमाल, रोजिना सिटौला, विपिन कार्की, सुरक्षा पन्त लगायत चलचित्र क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई परिचयपत्र वितरण गरिएको बोर्डले जनाएको छ।

यसअघि वार्षिकोत्सवको पूर्वसन्ध्यामा बोर्डले सामाजिक उत्तरदायित्वअन्तर्गत मृगस्थली क्षेत्रमा वृक्षारोपण तथा बोर्ड परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

समारोहको समापन गर्दै बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगलाई नीतिगत, संस्थागत, प्राविधिक तथा व्यावसायिक रूपमा थप सुदृढ बनाउने दिशामा बोर्ड निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले डिजिटल रूपान्तरण, चलचित्र अभिलेखीकरण, सफल चलचित्रको तथ्याङ्क संकलन, चलचित्रकर्मीको सम्मान तथा सिर्जनात्मक परियोजनाको प्रवर्द्धन आगामी कार्ययोजनाका प्रमुख प्राथमिकता रहने बताए। साथै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार, निजी क्षेत्र र चलचित्रकर्मीबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार