दोलखास्थित भीमेश्वर मन्दिरको दैनिक नित्य पूजा, आरती तथा दर्शनको समय तालिका सार्वजनिक गरिएको छ। मन्दिर व्यवस्थापन समितिले पूजा–अर्चना र दर्शन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन समय निर्धारण गर्दै भक्तजनलाई सोही अनुसार उपस्थित हुन आग्रह गरेको हो।
समितिका अध्यक्ष भरत श्रेष्ठले मन्दिरको धार्मिक परम्परा तथा भक्तजनको सुविधालाई मध्यनजर गर्दै पूजा व्यवस्थापनलाई अझ व्यवस्थित बनाइएको बताए। उनले निर्धारित समयमै उपस्थित भई सहज रूपमा दर्शन गर्न सबै श्रद्धालुलाई अनुरोध गरेका छन्।
समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार दैनिक पूजा प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन समय तालिका सार्वजनिक गरिएको हो। उनले विशेष पर्व, उत्सव तथा धार्मिक अवसरहरूमा आवश्यकताअनुसार समय व्यवस्थापनमा परिवर्तन हुन सक्ने जानकारी दिए।
सार्वजनिक गरिएको तालिकाअनुसार:
बिहान ४ः३० बजे शुभारम्भ पूजा सुरु हुनेछ। बिहान ५ः०० बजेदेखि ११ः०० बजेसम्म दर्शन तथा बली पूजा सञ्चालन गरिनेछ भने सोही अवधिमा नित्य रुद्री पूजा पनि सम्पन्न हुनेछ। त्यसपछि बिहान ११ः०० देखि १२ः०० बजेसम्म पुनः दर्शन तथा बली पूजा सञ्चालन हुनेछ।
दिउँसो १२ः०० बजे नित्य गुठीको छक्काल पूजा सम्पन्न भएपछि बली पूजा बन्द गरिनेछ। दिउँसो १२ः०० देखि २ः३० बजेसम्म बली पूजा बाहेक भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, दिउँसो २ः३० देखि ३ः३० बजेसम्म गुठीयारबाट नित्य राज पूजा सञ्चालन हुनेछ। उक्त अवधिमा भक्तजनले मन्दिर बाहिरबाट मात्र दर्शन गर्न सक्नेछन्। ३ः३० देखि ६ः३० बजेसम्म मन्दिर बन्द रहने जनाइएको छ।
बेलुका ६ः३० देखि ७ः०० बजेसम्म नित्य सन्ध्याकालीन आरती सम्पन्न हुनेछ भने त्यसपछि मन्दिर भोलिपल्ट बिहान ४ः३० बजेसम्म बन्द रहनेछ।
अध्यक्ष भरत श्रेष्ठले भीमेश्वर मन्दिर दोलखावासी तथा देशभरका श्रद्धालुहरूको आस्थाको केन्द्र भएकाले पूजा–अर्चनालाई व्यवस्थित र सहज बनाउन समय तालिका लागू गरिएको बताए। कोषाध्यक्ष सुरेश श्रेष्ठले पनि भक्तजनको सहजता तथा मन्दिर व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्न यो तालिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij