Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

नक्छे प्रधान परिवारको कुलघर पुनःनिर्माण सम्पन्न

नक्छे प्रधान परिवारको कुलघर पुनःनिर्माण सम्पन्न

नेपाल सम्वत् ११४६, तछलाथ्वः ३ प्रतिपदा (३ अषाढ, २०८३, १७ जुन, २०२६) बुधबार, बाँपिझ्याला । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षतिग्रस्त भएको प्राचीन शहर दोलखास्थित नक्छे प्रधान परिवारको कुलघर पुनःनिर्माण सम्पन्न भएको छ। करिब तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य परिवारका सदस्य, चेलीबेटी, चेलीबेटीका सन्तान तथा शुभेच्छुकहरूको सहयोगमा सम्पन्न भएको हो।

निर्माण समितिका कोषाध्यक्ष अमरकुमार प्रधानका अनुसार युवादेखि ज्येष्ठ सदस्यसम्मको सक्रिय सहभागिता, सहयोग र सद्भावका कारण कुलघर निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो। उहाँले वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता डा. मुक्तीनारायण प्रधान र पञ्चकन्या ग्रुपका सञ्चालक परिवारका सदस्य उदिन श्रेष्ठको विशेष सहयोग तथा सक्रिय भूमिका रहेको बताउनुभयो।

त्यस्तै, निर्माण कार्यमा प्राविधिक सहयोग पुर्‍याउने परिवारका सदस्य इन्जिनियर नहेन्द्र प्रधान, रविन प्रधान र महेश्वर प्रधानको पनि उल्लेखनीय भूमिका रहेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार वर्षायाम सुरु भएकाले केही सामान्य काम बाँकी रहे पनि ती काम वर्षा सकिएपछि सम्पन्न गरिनेछ। पुनःनिर्माण गरिएको यही कुलघरमा ३३ वर्षपछि स्वदेश फर्किएको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति असार ४ गते प्रतिष्ठापन गरिने तयारी गरिएको छ।

कोषाध्यक्ष प्रधानले कुल घर पुनः निर्माणमा परिवारका सदस्यहरु युवा समाजसेवी अजय प्रधान, शरणकुमार प्रधानलगायत परिवारका अन्य सदस्यहरूको योगदान पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। निर्माण सम्पन्न भएसँगै क्षमापूजाको तयारी भइरहेको र निर्माण समितिका अध्यक्ष इन्जिनियर नहेन्द्र प्रधान अमेरिका बाट फर्किएपछि निर्माणसम्बन्धी आय–व्यय विवरण सम्पूर्ण प्रधान परिवारबीच सार्वजनिक गरिने जानकारी दिनुभयो।

कुलघर निर्माणमा सहयोग पुर्‍याउने परिवारका सदस्य, चेलीबेटी तथा उनीहरूका छोरा, नाति–नातिनीहरूको नाम ताम्रपत्रमा अंकित गरी कुलघरमा सुरक्षित राखिने पनि उहाँले बताउनुभयो।

उहाँले कुलघर पुनःनिर्माण अभियानमा सहयोग, सद्भाव र योगदान पुर्‍याउने प्रधान परिवारका सदस्य, चेलीबेटी, चेलीबेटीका सन्तान तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै बाँकी रहेका काम तथा आगामी गतिविधिमा समेत सबैको निरन्तर साथ, सहयोग र सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार