नेपाल सम्वत् ११४६, तछलाथ्वः २ प्रतिपदा (२ अषाढ, २०८३, १५ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । नेकपा (माओवादी) का तत्कालीन नेता तथा अमर सहिद रीतबहादुर खड्का ‘प्रताप’को २४औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी श्रद्धा, सम्मान र स्मरणका साथ मनाइएको छ। यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष स्मृति कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कम्युनिष्ट पार्टी दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वसभामुख तथा नेकपा नेता अग्नि सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सहिद रीतबहादुर खड्काकी आमा मनमायाँ खड्काको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी नेकपा नेताहरू महेन्द्रबहादुर कार्की, भीमप्रसाद दाहाल, विजयप्रकाश सापकोटा, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल तथा सहिदका भाइ विशाल खड्कालगायत विभिन्न तहका नेता, कार्यकर्ता, सहयोद्धा, शुभेच्छुक र सहिद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष ईराज रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले अमर सहिद रीतबहादुर खड्काले नेपाली जनआन्दोलन, जनयुद्ध तथा कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गरेका थिए। उनीहरूले खड्कालाई केवल राजनीतिक कार्यकर्ताका रूपमा मात्र नभई इमानदार, निष्ठावान्, अनुशासित र समर्पित क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्नि सापकोटाले जनयुद्ध र परिवर्तनको आन्दोलनलाई सफल बनाउन हजारौँ सहिदहरूले पुर्याएको योगदान इतिहासको अमूल्य सम्पत्ति भएको बताउनुभयो। उहाँले अमर सहिद रीतबहादुर खड्काले देखाउनुभएको साहस, समर्पण र वैचारिक दृढताबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो। सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै उनीहरूको सपना साकार पार्नु नै वास्तविक श्रद्धाञ्जली हुने उहाँको भनाइ थियो।
वक्ताहरूले रीतबहादुर खड्काको राजनीतिक यात्रा, संगठन निर्माणमा पुर्याएको योगदान तथा जनतामाझ स्थापित गरेको विश्वासको चर्चा गर्दै विद्यार्थी राजनीतिदेखि पार्टीको केन्द्रीय नेतृत्व तहसम्मको उहाँको संघर्षपूर्ण यात्राको स्मरण गरेका थिए। संगठन विस्तार, राजनीतिक प्रशिक्षण तथा जनसंघर्षका विभिन्न मोर्चामा उहाँले खेलेको भूमिकालाई सहभागीहरूले विशेष रूपमा उल्लेख गरेका थिए।
कार्यक्रममा सहिद परिवारका सदस्यहरूले पनि आफ्ना अनुभव र भावनाहरू व्यक्त गरेका थिए। विशेष अतिथि मनमायाँ खड्काले छोरा रीतबहादुरको स्मरण गर्दै सहिदहरूको बलिदानले देशमा परिवर्तनको जग निर्माण गरेको बताउनुभयो। उहाँले सहिदहरूले देखाएको बाटोलाई सम्मान गर्दै सामाजिक न्याय, समानता र जनअधिकार स्थापनाका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो।
स्मृति कार्यक्रममा अमर सहिद रीतबहादुर खड्काको जीवन, संघर्ष र योगदानमाथि चर्चा गरिएको थियो। सहभागीहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए। साथै सहिदको तस्वीरमा माल्यार्पण, स्मरण मन्तव्य तथा श्रद्धाञ्जली कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।
वक्ताहरूले जनयुद्धका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणको अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई सामाजिक न्याय, समानता र समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
अमर सहिद रीतबहादुर खड्का ‘प्रताप’ले २०५९ साल असार २ गते सहादत प्राप्त गर्नुभएको थियो। उहाँको संघर्षशील जीवन, वैचारिक निष्ठा र बलिदानलाई स्मरण गर्दै हरेक वर्ष स्मृति दिवस मनाइँदै आएको छ। यस वर्षको २४औँ स्मृति दिवसले पनि उहाँका आदर्श, योगदान र बलिदानलाई पुनः स्मरण गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij