नेपाल सम्वत् ११४६, अनलागाः १३ त्रयोदशी (३० जेष्ठ, २०८३, १३ जुन, २०२६) शनिवार, बाँपिझ्याला । बौद्ध युवा कमिटी ललितपुरले ललितपुर महानगरपालिकाको संस्कृति, पर्यटन तथा उद्योग समितिसँगको सहकार्यमा सञ्चालन गरेको तीनदिने बौद्ध जागरण शिविर शनिबार सम्पन्न भएको छ।
पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा रहेको सत्यमोहन जोशी सभाहलमा आयोजित समापन समारोहको उद्घाटन ललितपुर महानगरपालिका संस्कृति, पर्यटन तथा उद्योग समितिका सदस्य तथा वडा नं. ६ का अध्यक्ष रूपेन्द्रराज शाक्यले गर्नुभयो।
कार्यक्रममा बोल्दै शाक्यले तथागत गौतम बुद्धको व्यावहारिक, वैज्ञानिक तथा मानवतावादी शिक्षालाई युवापुस्ता र समुदायस्तरसम्म पुर्याउन यस्ता शिविर प्रभावकारी माध्यम बनेको बताउनुभयो। उहाँले बुद्धका शिक्षालाई व्यवहारमा उतार्दै समाजमा शान्ति, सद्भाव र नैतिक मूल्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
शिविरको पहिलो दिन जयमनोहर महाविहार सुबहालमा तथा दोस्रो र तेस्रो दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो। पहिलो दिन जयमनोहर महाविहार सुबहाल ज्ञानमाला भजन खलः र श्री चिरञ्जीवी ज्ञानमाला भजन खलःले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए।
शिविरमा भिक्षु कौण्डन्य महास्थविर, बौद्धिचर्या नेपालका अध्यक्ष अनिल शाक्य तथा बौद्ध व्यक्तित्वहरू विश्वन्तर शाक्य र सुनील महर्जन स्रोत व्यक्तिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले बुद्ध दर्शन, नैतिक जीवन, करुणा, मैत्रीभाव तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिनुभएको थियो।
बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिश शाक्यका अनुसार शिविरबाट करिब ३ सय जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरले युवाहरूमा बौद्ध दर्शनप्रति जागरण ल्याउनुका साथै सकारात्मक सोच, अनुशासन र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij