नेपाल सम्वत् ११४६, अनलागाः १३ त्रयोदशी (३० जेष्ठ, २०८३, १३ जुन, २०२६) शनिवार, बाँपिझ्याला । बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका कारण तनावग्रस्त बनेको लाम्पाटा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको टोली पुगेको छ। केही दिनयता स्थानीय तहबीच सीमा निर्धारणको विषयलाई लिएर विवाद बढ्दै गएपछि शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी परिचालन गरिएको हो।
सशस्त्र प्रहरी बलका अनुसार जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको टोली शनिबार लाम्पाटा पुगेको हो। उक्त क्षेत्रमा अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको छ। प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय अवस्थाको अध्ययन गर्नुका साथै सुरक्षा व्यवस्थापनका आवश्यक कामहरू अगाडि बढाएको छ।
सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले लाम्पाटामा खटिएको टोलीलाई प्रधान कार्यालयबाट आवश्यक निर्देशन, समन्वय तथा सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँका अनुसार क्षेत्रको सुरक्षा अवस्था, स्थानीय आवश्यकता तथा परिस्थितिको मूल्याङ्कनका आधारमा थप जनशक्ति र स्रोतसाधन परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।
बाजुरा र हुम्लाको सीमाक्षेत्रमा पर्ने लाम्पाटा लामो समयदेखि दुवै जिल्लाका स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै आएको स्थान हो। पछिल्लो समय सीमा सम्बन्धी विवाद चर्किँदै जाँदा स्थानीयवासीबीच तनाव सिर्जना भएको थियो। विवादका कारण कुनै अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको हो।
सुरक्षा बेस स्थापना भएपछि क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, सम्भावित झडप तथा विवादलाई नियन्त्रण गर्न र स्थानीय नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सुरक्षा निकायको उपस्थितिले सीमा विवादका कारण उत्पन्न हुन सक्ने थप तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सरकार र सम्बन्धित निकायहरूले सीमा विवादको दीर्घकालीन समाधानका लागि आवश्यक अध्ययन, तथ्य संकलन तथा संवादको प्रक्रिया अगाडि बढाइरहेका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिहरूबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ। तत्कालका लागि क्षेत्रको सुरक्षा अवस्था सामान्य राख्न र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीलाई जिम्मेवारीसहित परिचालन गरिएको हो।
स्थानीयवासीले पनि विवादलाई संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेका छन्। लाम्पाटामा सुरक्षा बेस स्थापना भएसँगै सीमा विवाद प्रभावित क्षेत्रमा सुरक्षा उपस्थिति थप बलियो हुने र जनजीवन सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij