नेपाल सम्वत् ११४६, अनलागाः १३ त्रयोदशी (३० जेष्ठ, २०८३, १३ जुन, २०२६) शनिवार, बाँपिझ्याला । गोरखापत्र संस्थानद्वारा प्रकाशित साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले प्रदान गर्दै आएको मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार यादव खरेल, वरिष्ठ कथाकार भाउपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डा. गीता त्रिपाठी लाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो।
सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले देशको साहित्य, संस्कृति र सङ्गीत सुदृढ भए राष्ट्रका अन्य क्षेत्र पनि बलियो बन्ने धारणा व्यक्त गर्नुभयो। उहाँले गोरखापत्र संस्थान ले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै संस्थाको समृद्धि र निरन्तरताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। सरकार व्यवस्थापकको भूमिकामा रहेको उल्लेख गर्दै उहाँले सञ्चार मन्त्रालयअन्तर्गतका निकायहरूलाई थप सशक्त बनाउने दिशामा काम भइरहेको जानकारी दिनुभयो।
आफू साहित्यको विद्यार्थी रहेको स्मरण गर्दै मन्त्री तिमिल्सिनाले साहित्य र सङ्गीतले जीवनमा ऊर्जा र प्रेरणा प्रदान गरिरहेको बताउनुभयो। उहाँले मधुपर्कले निरन्तर रूपमा वरिष्ठ स्रष्टाहरूलाई सम्मान गर्दै आएकोमा खुसी व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभयो।
सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले मधुपर्कको निरन्तरताले नेपाली साहित्यकारहरूलाई उत्साह प्रदान गरेको बताउनुभयो। प्रविधिको तीव्र विकाससँगै छापा माध्यम चुनौतीमा परेको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रपत्रिकाको संरक्षण र निरन्तरताका लागि राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। बजारमा सम्मान र पुरस्कार वितरणमा विकृति देखिए पनि संस्थाको इतिहास, योगदान र विश्वसनीयताको आधारमा सम्मान ग्रहण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो।
वरिष्ठ कथाकार भाउपन्थीले पनि नेपाली साहित्यिक पत्रपत्रिकाहरू संरक्षण गर्न राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। साहित्यिक पत्रिकाहरू क्रमशः अवसानको जोखिममा रहेको उल्लेख गर्दै उहाँले भाषा र साहित्यको अस्तित्व जोगाउन पत्रपत्रिकाको संरक्षण अपरिहार्य रहेको धारणा राख्नुभयो। आठ दशकभन्दा बढी साहित्यिक यात्रामा नेपाली साहित्यले धेरै उतारचढाव भोगेको अनुभव उहाँले साझा गर्नुभयो।
मधुपर्क प्रतिभा सम्मानबाट सम्मानित डा. गीता त्रिपाठीले उक्त सम्मानले आफूलाई थप सिर्जनात्मक ऊर्जा र जिम्मेवारीबोध गराएको बताउनुभयो। उहाँले गोरखापत्र संस्थान तथा मधुपर्क परिवारप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा साहित्यकार रोचक घिमिरे ले भाषा र साहित्य कुनै पनि समुदायको पहिचानको आधार भएको उल्लेख गर्दै यसको संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताउनुभयो। उहाँले मधुपर्कले लामो समयदेखि साहित्यिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको चर्चा गर्नुभयो।
सोही अवसरमा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे लाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। मधुपर्कका सम्पादक तुलसीहरि कोइराला को सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र संस्थानका निमित्त प्रमुख उमेशकुमार ओझा लगायत सञ्चालक समिति सदस्य, सम्पादक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij