Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

भीमेश्वर मन्दिरमा जथाभावी निर्माण रोक्न माग, व्यवस्थापन समितिलाई ध्यानाकर्षण पत्र

भीमेश्वर मन्दिरमा जथाभावी निर्माण रोक्न माग, व्यवस्थापन समितिलाई ध्यानाकर्षण पत्र

नेपाल सम्वत् ११४६, अनलागाः ९ नवमी (२६ जेष्ठ, २०८३, ९ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय धरोहर भीमेश्वर (भीमसेन) मन्दिर परिसरमा मापदण्ड विपरीतका अव्यवस्थित संरचना निर्माण गर्ने कार्य नरोकिएपछि स्थानीयवासी थप आन्दोलित भएका छन्।

यसै क्रममा शनिवार स्थानीय नागरिकहरूले संकलन गरेको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र मन्दिर परिसरमै पुगेर श्री भीमेश्वर मन्दिर गुठि व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठलाई बुझाएका छन्।हस्ताक्षर संकलन अभियानका संयोजक नरेन्द्र श्रेष्ठको नेतृत्वमा मन्दिर परिसर पुगेको स्थानीयको टोलीले उक्त पत्र बुझाएको हो। यसअघि पटक-पटक मौखिक सुझाव दिँदा र ध्यानाकर्षण गराउँदा समेत निर्माण कार्य नरोकिएपछि स्थानीयवासी हस्ताक्षर संकलन गरी दबाब दिन बाध्य भएका हुन्।

यो अभियानलाई थप सशक्त बनाउन भोलि जेठ २७ गते बिहान ११:०० बजे भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई बोधार्थ जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। अभियानका संयोजक नरेन्द्र श्रेष्ठले मन्दिरको साख जोगाउने यो ऐतिहासिक कार्यमा ऐक्यबद्धता जनाउन र उपस्थिति हुनका लागि सम्पूर्ण स्थानीयवासी, सरोकारवाला तथा भक्तजनहरूलाई हार्दिक आह्वान गर्नुभएको छ।

के छ ध्यानाकर्षण पत्रमा ?

स्थानीयद्वारा बुझाइएको पत्रमा मन्दिरको प्राचीन ऐतिहासिकता र प्राचीन शैलीको ख्याल नगरी जथाभावी रूपमा फलामे गेट, लाइन व्यवस्थित गर्ने नाममा फलामे बार र ढुङ्गाहरूमा प्वाल पार्ने जस्ता कार्य भइरहेको भन्दै तीव्र आपत्ति जनाइएको छ। यस्ता हचुवा निर्माणले मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुनबाट वञ्चित भएको र यसको साख गिरेको दाबी गरिएको छ।यसैगरी, फूल व्यवसायीलाई व्यवस्थित गर्ने नाममा घरेलुको जग्गामा करिब २० लाख रुपैयाँ खर्च गरेर बनाइएका व्यापारिक कवलहरू हालसम्म भाडामा दिन नसक्नु व्यवस्थापकीय कमजोरी र निहित स्वार्थ भएको आरोप पत्रमा लगाइएको छ।

बिना योजना गरिएका यस्ता कार्यले भीमेश्वरको कोषमा ठूलो आर्थिक हानि हुनुका साथै मन्दिरको सौन्दर्य र इतिहास नै नासिने खतरा बढेको स्थानीयको भनाइ छ।स्थानीयका मुख्य मागहरू:मन्दिरको मौलिक स्वरूप संरक्षणका लागि हाल भइरहेको निर्माण कार्य तत्काल रोक्नुपर्ने।स्थानीय र सरोकारवालाहरूसँग छलफल गरी सर्वस्वीकार्य समाधान खोजिनुपर्ने।लाखौँ खर्चेर बनाइएका कवलहरू तुरुन्त व्यवस्थापन गरिनुपर्ने।'अस्थायी' भन्दै बनाइँदै गरेको अव्यवस्थित फलामे बार यथाशीघ्र हटाउनुपर्ने।यस विषयमा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले पत्र बुझ्दै स्थानीयको माग र यसबारे समितिमा छलफल चलाउने आश्वासन दिनुभएको छ।

notice.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार