Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकपको समूह ‘एच’मा स्पेन–उरुग्वे भिडन्तले बढायो रोमाञ्च, साउदी र केप भर्डेको चुनौती

विश्वकपको समूह ‘एच’मा स्पेन–उरुग्वे भिडन्तले बढायो रोमाञ्च, साउदी र केप भर्डेको चुनौती

नेपाल सम्वत् ११४६, अनलागाः ९ नवमी (२६ जेष्ठ, २०८३, ९ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । आसन्न फिफा विश्वकपको समूह ‘एच’ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने देखिएको छ। युरोपियन च्याम्पियन स्पेन र दक्षिण अमेरिकी फुटबलको शक्तिशाली टोली उरुग्वे एउटै समूहमा परेपछि विश्व फुटबल प्रेमीहरूको ध्यान यस समूहमा केन्द्रित भएको हो। यी दुई दाबेदार टोलीले चार वर्षअघि विश्वकपमा अर्जेन्टिनालाई स्तब्ध बनाएको साउदी अरेबियासहित पहिलो पटक विश्वकप खेल्न लागेको केप भर्डेको चुनौती सामना गर्नुपर्नेछ।

समूहका अधिकांश खेल अमेरिकाका विभिन्न शहरमा आयोजना हुनेछन्। तर समूह चरणको सबैभन्दा प्रतीक्षित खेल स्पेन र उरुग्वेबीच जुन २६ मा मेक्सिकोको ग्वाडालाजारामा हुनेछ। अमेरिका बाहिर आयोजना हुने यो समूहको एकमात्र खेल पनि हो।

स्पेन र उरुग्वेबीच विश्वकप इतिहासमा यसअघि दुई पटक भेट भएको छ। सन् १९५० को विश्वकपको फाइनल चरणमा भएको खेल २–२ को बराबरीमा सकिएको थियो। त्यस संस्करणमा राउन्ड रोबिन प्रणालीअनुसार उरुग्वेले उपाधि जितेको थियो भने स्पेन चौथो स्थानमा सीमित बनेको थियो। त्यसपछि सन् १९९० को विश्वकपमा यी दुई टोलीबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

स्पेनले आफ्ना बाँकी दुई खेल अमेरिकाको एट्लान्टामा खेल्नेछ भने उरुग्वेका अन्य दुई खेल मियामीमा हुनेछन्। यस्तै, साउदी अरेबिया र केप भर्डेबीचको खेल ह्युस्टनमा आयोजना गरिनेछ।

चार वर्षअघि कतार विश्वकपमा मोरक्कोसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि उल्लेखनीय पुनरागमन गरेको छ। टोलीले सन् २०२४ मा युरोपियन च्याम्पियनशिपको उपाधि जित्नुका साथै २०२३ को नेशन्स लिग पनि आफ्नो नाममा लेखाएको थियो। २०२५ को नेशन्स लिगमा भने स्पेन उपविजेतामा सीमित बनेको थियो।

यता, विश्वकपमा पहिलो पटक स्थान बनाएको केप भर्डे समूहको सबैभन्दा नयाँ टोली हो। करिब पाँच लाख जनसंख्या भएको यो राष्ट्र विश्वकपमा सहभागी हुने देशहरूमध्ये भूगोलका आधारमा तेस्रो सानो राष्ट्र मानिन्छ। आइसल्यान्ड र कुराकाओ मात्र यसभन्दा साना देश हुन्।

साउदी अरेबिया लगातार तेस्रो विश्वकपमा सहभागी हुँदैछ। कतार विश्वकपमा लियोनल मेस्सीको अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै विश्व फुटबलमा सनसनी मच्चाएको साउदी टोली पछिल्ला वर्षहरूमा फुटबल क्षेत्रमा ठूलो लगानी गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव बढाउने प्रयासमा छ।

उता, दक्षिण अमेरिकी छनोट प्रतियोगितामा अर्जेन्टिना, इक्वेडर र कोलम्बियापछि चौथो स्थान हासिल गर्दै उरुग्वेले विश्वकप यात्रा सुनिश्चित गरेको हो। पाँच पटकको विश्वकप विजेता ब्राजिलभन्दा माथिल्लो स्थानमा रहेर छनोट भएको उरुग्वे चार वर्षअघि कतार विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो।

समूह ‘एच’मा रहेका चारै टोलीको फरक पृष्ठभूमि, उपलब्धि र महत्वाकांक्षाले यस समूहलाई विश्वकपकै सबैभन्दा चासोपूर्ण समूहहरूमध्ये एक बनाएको छ। स्पेन र उरुग्वे उपाधि दाबेदारका रूपमा अघि बढ्दा साउदी अरेबिया र नवप्रवेशी केप भर्डेले उल्टफेरको सम्भावना बोकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार