नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगतका गलत राजनीतिक अभ्यास दोहोर्याउन नहुने बताएका छन्।
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले नेपाली राजनीतिमा नयाँ सोच, व्यवहार र संस्कारको आवश्यकता रहेको उल्लेख गरे। जनताले विगतमा आलोचना गरेका राजनीतिक शैलीलाई पुनः अपनाउनु उपयुक्त नहुने भन्दै उनले रास्वपाले आफूले उठाएका मूल्य र मान्यतालाई व्यवहारमा उतार्नुपर्ने बताए।
उनले देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको उल्लेख गर्दै राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा व्यापक बहस सुरु भएको बताए। विगतमा गलत भनेर आलोचना गरिएका प्रवृत्तिहरूलाई दोहोर्याउने छुट रास्वपालाई नरहेको उनको भनाइ थियो। राजनीतिक संस्कारसँगै राजनीतिबारेको सोच र बुझाइमा पनि परिवर्तन आवश्यक रहेको उनले बताए।
मन्त्री तिमिल्सिनाले रास्वपाका प्रत्येक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। पार्टी कुनै व्यक्ति, समूह वा सीमित स्वार्थको संरक्षण गर्ने संस्था बन्न नहुने भन्दै उनले बिचौलियातन्त्रलाई प्रोत्साहन गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने बताए।
उनले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताए। कुनै पदमा पुग्नु मात्र महत्वपूर्ण नभई दल र देशका लागि कसले कति योगदान दिन सक्छ भन्ने विषय महत्वपूर्ण हुने उनको भनाइ थियो।
संगठन सुदृढीकरणका लागि वडा, पालिका, जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गरे। सहकार्य र सहमतिका आधारमा चुस्त, दुरुस्त तथा प्रभावकारी संगठन निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
राजनीति व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तनको अभ्यास सुरु गर्नुपर्ने बताए। उनले नागरिकलाई प्रदान गरिने सेवाहरूलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
फरक प्रसङ्गमा उनले धादिङसहित देशका विभिन्न दुर्गम क्षेत्रबाट मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे धेरै गुनासा आउने गरेको जानकारी दिए। दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार ल्याउने लक्ष्यसहित काम भइरहेको बताए।
मन्त्री तिमिल्सिनाले मोबाइल नेटवर्क सुधार तथा सेवा विस्तारका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै नागरिकले अनुभूति गर्ने गरी दूरसञ्चार सेवामा सकारात्मक परिवर्तन ल्याइने विश्वास व्यक्त गरे।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij