Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको संस्कृति संरक्षणमा छलफल

दोलखाको संस्कृति संरक्षणमा छलफल

नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको मौलिक नेपाल भाषा, संस्कृति, परम्परागत बाद्यवादन तथा स्थानीय भजनको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका विषयमा उपत्यकामा बसोबास गर्ने दोलखावासीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। नेवाः देय् दवु दोलखा काठमाडौँ सम्पर्क समितिको आयोजनामा सम्पन्न कार्यक्रममा दोलखाका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, संस्कृतिकर्मी, समाजसेवी, शिक्षाविद् तथा भजनप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय भजनप्रेमी भगवानदास श्रेष्ठ र रामबहादुर श्रेष्ठ, नेवाः देय् दवुका केन्द्रीय सदस्य देवेन्द्रनारायण प्रधान, बनारसी सहयोगी हातहरूका अध्यक्ष दिलिप श्रेष्ठ, छिजि द्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबजी, प्रा.डा. हरिदर्शन श्रेष्ठ, कलाकार मदनदास श्रेष्ठ, प्रा. अमन श्रेष्ठ, साहित्यकार अमरकुमार प्रधान, समाजसेवी भल्ला मास्के, अधिवक्ता तथा गुठीयार सुरेश प्रधान, युवा समाजसेवी तथा अधिवक्ता प्रविण प्रधान, व्यवसायी रोशन चाकुबजी, गुठीयार दिनेश प्रधान र राम श्रेष्ठलगायत दोलखाका विभिन्न क्षेत्रका अग्रज तथा प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले दोलखाको नेपाल  भाषा, संस्कृति, परम्परागत भजन तथा बाद्यवादनको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए। उनीहरूले यस्ता मौलिक सांस्कृतिक सम्पदाहरू दोलखाको पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै पछिल्लो समय संरक्षण र पुस्तान्तरणको अभावमा यिनको अस्तित्व नै संकटमा पर्न थालेको चिन्ता व्यक्त गरे।

सहभागीहरूले विशेषगरी युवापुस्तालाई परम्परागत बाजा बजाउने सीप, स्थानीय भजन गायन तथा सांस्कृतिक परम्पराबारे जानकारी गराउन नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूको भनाइमा संस्कृति जोगाउने सबैभन्दा प्रभावकारी माध्यम भनेकै नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरण गर्नु हो। त्यसका लागि व्यवस्थित प्रशिक्षण, अभ्यास तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा उपस्थित महानुभावहरूले दोलखाको मौलिक नेपाल  भाषा, भजन र बाद्यवादनको जगेर्ना तथा संरक्षणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका थिए। विशेष गरी भीमेश्वर नगरपालिका र वडा नं. २ दोलखाले यस विषयमा विशेष पहल गर्नुपर्नेमा सहभागीहरूको साझा धारणा रहेको थियो। सांस्कृतिक सम्पदाको संरक्षण, प्रशिक्षण सञ्चालन, आवश्यक स्रोत व्यवस्थापन तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने जिम्मेवारी स्थानीय निकायले लिनुपर्ने उनीहरूको भनाइ थियो।

सहभागीहरूले दोलखाको सांस्कृतिक सम्पदाको अभिलेखीकरण, दस्तावेजीकरण तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस अभियानमा स्थानीय समुदाय, गुठी संस्था, सामाजिक संघसंस्था र सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताएका थिए।

कार्यक्रमले दोलखाको नेपाल  भाषा, संस्कृति, स्थानीय भजन र परम्परागत बाद्यवादनको संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यस विषयमा थप सक्रिय रूपमा अघि बढ्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

नेवाः देय् दवु दोलखा काठमाण्डौका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष लेखनाथ श्रेष्ठ र सचिव सन्तोष प्रधान लगायतका पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार