नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भीमेश्वर (भीमसेन) मन्दिर परिसरमा मापदण्डविपरीत निर्माण गरिएका भौतिक संरचना हटाउन स्थानीयवासीले मन्दिर व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका छन्। मन्दिरको मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पहिचान जोगाउनुपर्ने मागसहित स्थानीयस्तरमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।
अभियानका अभियन्ता नरेन्द्र श्रेष्ठका अनुसार संकलित हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र शुक्रबार भीमेश्वर मन्दिर व्यवस्थापन समिति र बोधार्थका रूपमा भीमेश्वर नगरपालिका–२ वडा कार्यालयमा बुझाइनेछ।
स्थानीयवासीले तयार पारेको पत्रमा मन्दिरको प्राचीन स्वरूपलाई बेवास्ता गर्दै जथाभावी निर्माण गरिएका संरचनाले यसको ऐतिहासिक मूल्य र मौलिक पहिचानमाथि गम्भीर असर पुर्याइरहेको उल्लेख गरिएको छ। पुनर्निर्माणका क्रममा भएका केही त्रुटिपूर्ण कार्यका कारण मन्दिर विश्व सम्पदा सूचीमा समावेश हुन नसकेको विषयलाई पनि स्मरण गराइएको छ।
पछिल्लो समय मन्दिर परिसरमा निर्माण गरिएको फलामे गेट, दर्शनार्थीको लाइन व्यवस्थापन गर्ने नाममा राखिएको फलामे बार तथा ढुङ्गामा पारिएका प्वालजस्ता संरचनाले मन्दिरको सौन्दर्य र गरिमामा नकारात्मक प्रभाव पारेको स्थानीयको आरोप छ। यसबारे पटक–पटक सुझाव दिँदा पनि बेवास्ता गर्दै निर्माण कार्य अघि बढाइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्रमा मन्दिर व्यवस्थापन समितिको आर्थिक तथा व्यवस्थापकीय पक्षप्रति पनि प्रश्न उठाइएको छ। फूल व्यवसायीलाई व्यवस्थित गर्ने उद्देश्यले घरेलुको जग्गामा करिब २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएका व्यापारिक कवलहरू हालसम्म उपयोगमा आउन नसकेको भन्दै स्थानीयले त्यसको जवाफदेहिता खोजेका छन्। योजना र आवश्यकताको स्पष्ट अध्ययनबिनै संरचना निर्माण गर्दा मन्दिरको कोषमा आर्थिक क्षति पुगेको तथा सम्पदाको सौन्दर्यसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले मन्दिरको मौलिक स्वरूप संरक्षणका लागि हाल भइरहेका निर्माण कार्य तत्काल रोक्न, सरोकारवालासँग व्यापक छलफल गरी दीर्घकालीन समाधान खोज्न, निर्माण भइसकेका व्यापारिक कवलहरूको उचित व्यवस्थापन गर्न तथा अस्थायी नाममा राखिएका फलामे बारहरू तत्काल हटाउन माग गरेका छन्।
स्थानीयको यो अभियानले भीमेश्वर मन्दिरको ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षणको विषयलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij