नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाका युवा कलाकार दिपनारायण श्रेष्ठ ले हिन्दी चलचित्र ‘योद्धा नताशा’ मार्फत बलिउडमा डेब्यु गरेका छन्। प्रेम, संघर्ष, साहस र समर्पणको कथामा आधारित यस चलचित्रमा उनले ऋषिमुणी को महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठका लागि यो चलचित्र अन्तर्राष्ट्रिय चलचित्र यात्राको नयाँ अध्याय बनेको छ।
दोलखा जिल्ला प्राचिन शहर दुङ्गल टोल दोलखामा जन्मिएका श्रेष्ठ हाल ललितपुरको टिकाथलीमा बसोबास गर्दै आएका छन्। बाल्यकालदेखि नै अभिनयप्रति विशेष रुचि राख्ने उनले विद्यालय तथा स्थानीयस्तरका विभिन्न नाटकमा अभिनय गर्दै आफ्नो कलायात्रा सुरु गरेका थिए। स्थानीय सांस्कृतिक कार्यक्रम तथा नाट्य प्रतियोगितामा उत्कृष्ट अभिनय प्रस्तुत गरेर पुरस्कारसमेत हासिल गरेका श्रेष्ठले पछि नेपाली चलचित्र तथा टेलिशृंखला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
श्रेष्ठले यसअघि ‘बर एण्ड बधु’, ‘नरसिंहा’, ‘ह्रस्वदीर्घ’, ‘बाह्रगाउँ’, ‘हरिबहादुरको जुत्ता’ र ‘गोबर गणेश’ लगायतका नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। यसका साथै उनले दर्जनौं नेपाली टेलिशृंखलामा अभिनय गरेर दर्शकमाझ लोकप्रियता कमाएका छन्। अब बलिउड चलचित्रमार्फत उनले आफ्नो अभिनय क्षमतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने अवसर पाएका छन्।
यसै चलचित्रमार्फत नेपाली कलाकार समिता गिरीले पनि हिन्दी चलचित्र क्षेत्रमा औपचारिक प्रवेश गरेकी छन्। चलचित्रमा समिता गिरी मुख्य अभिनेत्रीको भूमिकामा छिन् भने अरविन्द आर्यन मुख्य नायकका रूपमा देखिनेछन्। चलचित्रको कथाले प्रेम, विश्वास र लक्ष्यका लागि कठिन परिस्थितिसँग संघर्ष गर्ने पात्रहरूको जीवनयात्रालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
चलचित्रको निर्देशन भारतीय निर्देशक मिथिलेश निशादले गरेका छन् भने निर्माता बबिता गुप्ताजी रहेकी छन्। कथा तथा पटकथा देवेन्द्र गुप्ताले तयार गरेका हुन्। चलचित्रमा सहायक निर्देशकको भूमिका प्रदीप यादव ले निर्वाह गरेका छन्।
चलचित्रको नृत्य निर्देशन सञ्जय शाहले गरेका छन्। एक्सन दृश्यलाई प्रभावकारी बनाउन सुयोग रिजाल द्वन्द्व निर्देशकका रूपमा आबद्ध छन्। कलाकारहरूको मेकअप नन्दलाल यादव ले गरेका छन् भने छायांकनको जिम्मेवारी अमित बोके तथा बब्लु सोवेब ले सम्हालेका छन्। चलचित्रको भिएफएक्स पक्ष रतिश भारती ले सम्हालिरहेका छन्। निर्माण कार्यमा शुभम यादव को विशेष सहयोग रहेको निर्माण टोलीले जनाएको छ।
नेपालका विभिन्न नदी, पहाड, जंगल तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन भइरहेको चलचित्रले नेपाली भूगोल र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। चलचित्रको पोस्टर तथा प्रचार सामग्री सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढ्दै गएको छ।
दोलखाका युवा कलाकार दिपनारायण श्रेष्ठको बलिउड डेब्युले जिल्लावासी तथा नेपाली कला क्षेत्रका लागि गर्वको विषय बनेको छ। नेपाली चलचित्र र टेलिशृंखलाबाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठ अब बलिउडको ठूलो पर्दामा देखिन लागेका छन्। निर्माण पक्षले ‘योद्धा नताशा’ प्रेम, साहस र संघर्षको सशक्त कथाका कारण दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ। हामीले गौरव गरौं दोलखा शहरबाट बलिउडमा युवा कलाकार श्रेष्ठले डेव्यु गर्दैछन् । सफलताको शुभकामना व्यक्त गर्दै मनको युवा कलाकार श्रेष्ठको ईच्छा प्राप्तीको लागि सधै दोलखा भीमेश्वरमा प्रार्थना गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij