नेपाल सम्वत् ११४७, कछलागाः ५, पञ्चमी (१३ मंसिर २०८३, २९ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलमा हालसम्म प्राप्त पदकका आधारमा बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन रहेको छ। यसैबीच, पुरुष फुटबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
हालसम्म सम्पन्न खेलमा बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ। पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा रहेको छ। एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ।
त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी कुल ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ।
त्यस्तै, गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ पदक, कोशी प्रदेशले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ पदक तथा सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेको छ।
लुम्बिनी प्रदेशले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक तथा सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेका छन्। मधेस प्रदेशले भने दुई कास्य पदकमात्र जितेको छ। सहआयोजक कर्णाली प्रदेश अहिलेसम्म पदकविहीन छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको बताउनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए।
नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।
आज मङ्सिर १३ गते पुरुष फुटबलअन्तर्गत दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij