Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

११ देशका २९ चलचित्रसहित १५औँ युरोपेली सङ्घ चलचित्र महोत्सव सुरु

११ देशका २९ चलचित्रसहित १५औँ युरोपेली सङ्घ चलचित्र महोत्सव सुरु

नेपाल सम्वत् ११४७, कछलाथ्वः १२, नवमी (५ मंसिर २०८३, २१ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । युरोपेली तथा नेपाली चलचित्रका उत्कृष्ट सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ १५औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा महोत्सव ठमेलस्थित क्युएफएक्स छाया सेन्टरमा दुई दिनसम्म सञ्चालन हुनेछ।

महोत्सवमा दैनिक दिउँसो १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु हुने आयोजकले जनाएको छ। चलचित्र हेर्न सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। दर्शकलाई ‘पहिला आउनेलाई प्राथमिकता’का आधारमा प्रवेश दिइने आयोजकले जनाएको छ।

काठमाडौँमा सम्पन्न प्रदर्शनपछि महोत्सव मङ्सिर १२ र १३ गते जनकपुरमा पनि आयोजना गरिनेछ। जनकपुरको कदम चोकस्थित गिरिजा चलचित्र मन्दिरमा महोत्सवका चलचित्र प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

यस वर्षको महोत्सवमा ११ देशका कुल २९ चलचित्र समावेश गरिएका छन्। महोत्सवमा १२ वटा युरोपेली कथानक चलचित्र, ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) मा मनोनयन भएका छ वटा लघु चलचित्र, नौ वटा नेपाली विद्यार्थी चलचित्र, इन्सेसन्ट रेनद्वारा निर्मित एक नेपाली एनिमेटेड लघु चलचित्र तथा बहुचर्चित कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’ प्रदर्शन गरिनेछ। उक्त चलचित्र जनकपुर संस्करणमा मात्र विशेष रूपमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा लक्जमबर्गका ‘अ बोट इन द गार्डेन’ र ‘ब्रिदिङ अन्डरवाटर’, आयरल्यान्डका ‘फोर मदर्स’ र ‘अ क्वाइट लभ’, आयरल्यान्ड, लक्जमबर्ग र फ्रान्सको संयुक्त निर्माण ‘उल्फवाकर्स’, फिनल्यान्डको ‘लङ गुड थर्सडे’, फ्रान्सको ‘राइड अवे’, अस्ट्रियाको ‘रोज’, जर्मनीका ‘२२ लेन्थ्स’ र ‘साइलेन्ट फ्रेन्ड’, स्पेन र फ्रान्सको संयुक्त निर्माण ‘सिरात’ तथा डेनमार्क, जर्मनी, चेक गणतन्त्र र बेलायतको संयुक्त निर्माण ‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’ लगायतका चलचित्र प्रदर्शन हुनेछन्।

महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा नेपालका लागि युरोपेली सङ्घका राजदूत चार्ल्स ह्वाइटलीले महोत्सवले नेपाल र युरोपबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।

उहाँले युरोपेली तथा नेपाली चलचित्रकर्मीको सिर्जनशीलताको उत्सव मनाउने, नवप्रतिभालाई प्रोत्साहन गर्ने तथा संवाद र सांस्कृतिक आदानप्रदानका अवसर सिर्जना गर्ने महोत्सवको उद्देश्य रहेको बताउनुभयो। साथै, काठमाडौँ र जनकपुरका दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीका सिर्जना अनुभव गर्ने अवसर प्रदान गर्न पाउँदा उत्साहित रहेको उहाँले उल्लेख गर्नुभएको थियो।

महोत्सवले चलचित्रमार्फत विभिन्न देशका समाज, संस्कृति, जीवनशैली, विचार र सिर्जनात्मक दृष्टिकोणलाई दर्शकसमक्ष प्रस्तुत गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका नवप्रतिभालाई अन्तर्राष्ट्रिय चलचित्रसँग परिचित हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार