नेपाल सम्वत् ११४६, अनलाथ्वः ८ अष्ठमी, (१० जेष्ठ, २०८३, २४ मे, २०२६) आईतबार, बाँपिझ्याला । लेकगाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक रमणीय बस्ती हो। समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको यस गाउँमा परम्परागत शैलीका ढुङ्गे घरहरू गुजमुज्ज देखिन्छन्। करिब एक सय परिवारको बसोबास रहेको यस गाउँका सबै बासिन्दा मगर समुदायका हुन्, जसका कारण लेकगाउँलाई ‘मगर सङ्ग्रहालय’ भनेर चिनिन्छ।
स्थानीयवासीले पुर्खौंदेखि अपनाउँदै आएको जीवनशैली आज पनि यहाँ जीवित छ। अर्मपर्म गरेर खेतीपाती गर्ने, घुम्ती गोठमा पशुपालन गर्ने, भूमे पूजा गर्ने र पुर्ख्यौली नाच प्रस्तुत गर्ने परम्पराले गाउँको सांस्कृतिक पहिचानलाई अझ जीवन्त बनाएको छ। स्थानीय सीप र सामग्री प्रयोग गरेर निर्माण गरिएका ढुङ्गे घरहरूले मगर समुदायको कला, संस्कृति र इतिहास झल्काउँछन्।
प्राकृतिक रूपमा पनि लेकगाउँ अत्यन्त आकर्षक छ। गाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमालहरूको मनोरम दृश्य देखिन्छ। अन्नपूर्ण हिमालबाट खस्ने हिउँपहिरो नजिकैबाट अवलोकन गर्न सकिन्छ भने नजिकै रहेको स्वाँराफाँट खाद्यबाली खेती र पशुपालनका लागि प्रसिद्ध छ। वनस्पतिविद्हरूको अध्ययनले यस क्षेत्रलाई चराचुरुङ्गी र जडीबुटीको समृद्ध क्षेत्रका रूपमा समेत चिनाएको छ।
लेकगाउँ हुँदै खोप्रा लेक र अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिने भएकाले यो पदयात्राका लागि पनि महत्त्वपूर्ण गन्तव्य बनेको छ। घोडेपानी, बयली र खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्गले पर्यटकलाई सहज पहुँच प्रदान गरेको छ। गाउँमा पर्यटकका लागि घरबास र रेष्टुरेन्टको व्यवस्था समेत गरिएको छ, जहाँ स्थानीय खानपान र मगर जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सकिन्छ।
बेनी–जोमसोम सडकअन्तर्गत पर्ने भुरुङ्ग तातोपानी हुँदै लेकगाउँ पुग्ने क्रममा नारच्याङ झरनाको दृश्यले यात्रालाई अझ आकर्षक बनाउँछ। स्थानीय तहले पूर्वाधार विकाससँगै गाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij