नेपाल सम्वत् ११४६, अनलाथ्वः ७ सप्तमी, (९ जेष्ठ, २०८३, २३ मे, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको १३औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा मेहरमान फाउण्डेशन दोलखाद्वारा स्वर्गीय हेमकृष्ण कुमारी प्रधानको स्मृतिमा स्थापना गरिएको “हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार” विभिन्न सञ्चारकर्मीलाई प्रदान गरिएको हो ।
यस वर्षको “हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार २०८२/०८३” बाट नगदरासी रु. १५ हजार सहित कालिञ्चोक एफ.एम.की कार्यक्रम प्रस्तोता सिर्जना खड्का सम्मानित हुनुभएको छ ।
त्यसैगरी, “हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार २०७२” बाट लामो समयदेखि पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा योगदान पुर्याउँदै आउनुभएकी पत्रकार गृष्मा राजभण्डारीलाई नगद रु. २० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
“हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार २०७३” बाट सञ्चार क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आउनुभएकी हाम्रो रेडियोकी व्यवस्थापक सिर्जना थापा खड्कालाई नगद रु. २० हजार र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, “२०७४” को पुरस्कारबाट काठमाडौं महानगरपालिका वडा नं. ३५, पेप्सीकोलाकी सञ्चारकर्मी ईलिजा उप्रेती सम्मानित हुनुभएको छ । उहाँलाई पनि नगद रु. २० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, “२०७५” को पुरस्कार नेपाल पत्रकार महासंघ दोलखाकी जिल्ला सचिव बिनिता शिवाकोटीलाई प्रदान गरिएको छ । उहाँलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद रु. २० हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । “२०७६” को पुरस्कार सर्लाही जिल्ला बरहथवा–५ घर भई हाल रातोपाटी टेलिभिजनमा कार्यरत मिनाकुमारी यादवलाई प्रदान गरिएको छ । उहाँलाई पनि नगद रु. २० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै, “२०७८” को पुरस्कार दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं. ६ लापिलाङ घर भई भीमेश्वर रेडियोमा समाचार प्रमुखका रूपमा कार्यरत विनीता सुवेदी भण्डारीलाई प्रदान गरिएको छ । उहाँलाई नगद रु. १५ हजार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वर्गीय हेमकृष्ण कुमारी प्रधानको योगदानको पनि स्मरण गरिएको थियो । नेपालको राणा विरोधी आन्दोलनदेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक संघर्षमा उहाँले परिवारमार्फत सकारात्मक र अग्रणी भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उहाँकै सम्मानस्वरूप उक्त स्मृति पुरस्कार स्थापना गरिएको जनाइएको छ ।
स्वर्गीय हेमकृष्ण कुमारी प्रधान तत्कालीन दोलखा गाउँ पञ्चायत समिति वडा नं. ८ डोक्छे टोलका निवासी स्वर्गीय टेकबहादुर श्रेष्ठ तथा स्वर्गीय सिद्धीकुमारी श्रेष्ठकी जेठी सुपुत्री हुनुहुन्थ्यो । उहाँ दिवंगत जगतनारायण प्रधानकी धर्मपत्नी हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९७८ मा भएको थियो भने निधन नेपाल संवत् ११३४ प्वहेलाथ्वः १४ अर्थात् २०७० पुस ३० गते मंगलबार भएको थियो ।
पुरस्कार अक्षयकोषका दाताहरूमा जेठी बुहारी भगवती प्रधान, माइलो छोरा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा. मुक्तीनारायण प्रधान र कान्छा छोरा उपेन्द्र प्रधान रहनुभएको छ ।
कार्यक्रममा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका पत्रकार दीपशंकर चौलागाईंलाई “ईन्द्रमणि पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो । २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय चौलागाईं नेपाली पत्रकारिताका प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् । समाचार लेखन, खोज पत्रकारिता तथा सामाजिक उत्तरदायित्वबारे करिब २० जना पत्रकारलाई प्रशिक्षण दिई राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा स्थापित गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ ।

पत्रकारितालाई समाज रूपान्तरणको अभियानका रूपमा आत्मसात गर्दै समतामूलक समाज निर्माणमा उहाँले निरन्तर योगदान पुर्याउँदै आउनुभएको भन्दै सम्मान गरिएको हो । चौलागाईं नेपाल पत्रकार महासंघ दोलखाका निवर्तमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
यसैगरी, नेपाल पत्रकार महासंघ दोलखा शाखाले वरिष्ठ पत्रकार राजेन्द्र श्रेष्ठलाई पनि सम्मान गरेको छ । त्यस्तै, पशुपति चौलागाईं स्मृति कोषबाट प्रदान गरिने “गणतान्त्रिक पत्रकारिता पुरस्कार” बाट पत्रकार दुर्गा बस्नेत सम्मानित हुनुभएको छ ।
त्यसैगरी, “विकास पत्रकारिता पुरस्कार” बाट पत्रकार कालिका खड्का सम्मानित हुनुभएको आयोजकले जनाएको छ । कार्यक्रममा सम्मानित पत्रकारहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सत्य, न्याय र जनपक्षीय पत्रकारितामा सक्रिय रहन शुभकामना व्यक्त गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij