Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

“Apex Chronicles” मार्फत दोलखाको इतिहास बारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

“Apex Chronicles” मार्फत दोलखाको इतिहास बारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला ।  इतिहास केवल किताबका पानामा सीमित विषय होइन, यसलाई अनुभूति, अवलोकन, संवाद र प्रत्यक्ष अनुभवबाट अझ गहिरो रूपमा बुझ्न सकिन्छ भन्ने उद्देश्यका साथ एपेक्स स्कुलद्वारा आयोजित विशेष कार्यक्रम “Apex Chronicles” गत आइतवार सफलतापूर्वक सम्पन्न भएको छ।

यस विशेष कार्यक्रममा प्राचीन नगरी दोलखाका अभियन्ता श्री शान्तकृष्ण श्रेष्ठज्यूको प्रेरणादायी उपस्थितिमा विद्यार्थीहरूले दोलखाको ऐतिहासिक महत्व, सांस्कृतिक सम्पदा, परम्परा, सभ्यता तथा मौलिक पहिचानबारे प्रत्यक्ष रूपमा सुन्ने, सिक्ने र बुझ्ने अवसर प्राप्त गरे। कार्यक्रममा उहाँले दोलखाको ऐतिहासिक पृष्ठभूमि, यहाँका धार्मिक, सांस्कृतिक तथा सामाजिक विशेषताहरूका साथै पुरातात्त्विक महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो।

“घुम्दै, सिक्दै, इतिहास बुझ्दै !” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर आफ्नै समाज, संस्कृति र इतिहाससँग जोडिने अवसर प्रदान गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा प्रश्न सोध्ने तथा इतिहासका विविध पक्षबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए। यसले विद्यार्थीहरूमा आफ्नो मौलिक इतिहास, भाषा, कला र संस्कृतिप्रति थप गर्व, चेतना र जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमले इतिहासलाई केवल अध्ययनको विषय नभई पहिचान, सभ्यता र भविष्यसँग जोडिएको महत्वपूर्ण सम्पदा हो भन्ने सन्देश प्रवाह गरेको छ। साथै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो जरा र संस्कृतिसँग नजिक बनाउँदै स्थानीय इतिहास संरक्षणप्रति सकारात्मक सोच विकास गर्ने विश्वास विद्यालयले लिएको छ।

यस महत्वपूर्ण तथा ज्ञानमूलक कार्यक्रममा आफ्नो अमूल्य समय, अनुभव र ऐतिहासिक ज्ञान साझा गरिदिनु भएकोमा प्राचीन नगरी अभियन्ता श्री शान्तकृष्ण श्रेष्ठज्यूप्रति एपेक्स स्कुल परिवारद्वारा  हार्दिक आभार तथा सम्मान व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार