Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर–२ मा २१ दिने तालिम सम्पन्न, मकैको खोस्टा र परालबाट हस्तकला उत्पादनमा महिलाहरू सक्षम

भीमेश्वर–२ मा २१ दिने तालिम सम्पन्न, मकैको खोस्टा र परालबाट हस्तकला उत्पादनमा महिलाहरू सक्षम

नेपाल सम्वत् ११४६, बछलागाः ८ अष्ठमी (२७ बैशाख, २०८३, १० मे, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा मकैको खोस्टा र पराल प्रयोग गरी डोरम्याट, डस्विन लगायतका हस्तकला सामग्री निर्माण गर्ने २१ दिने तालिम एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजनामा तथा भीमेश्वर नगरपालिका वडा नं. २ को समन्वयमा सञ्चालन भएको उक्त तालिमले स्थानीय महिलाहरूलाई सीप र स्वरोजगारतर्फ उन्मुख गराएको छ।

chakti2.gif

समापन कार्यक्रमका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख भास्कर ढुङ्गानाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ रहनुभएको थियो।

वडा अध्यक्ष श्रेष्ठले सहभागीहरूले छोटो समयमै देखाएको सीप र उत्पादन क्षमताको प्रशंसा गर्दै यस्ता तालिमले ग्रामीण महिलाहरूको आर्थिक अवस्था सुधारमा ठूलो योगदान पुर्‍याउने बताए। उनले सिकेको सीपलाई केवल तालिममा सीमित नराखी व्यवसायिक रूपमा अघि बढाउन आग्रह गर्दै नगरपालिका तथा वडा कार्यालयले बजार व्यवस्थापन र थप क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रमुख भास्कर ढुङ्गानाले तालिमको उद्देश्यअनुसार सहभागीहरूले राम्रो प्रगति गरेको उल्लेख गरे। उनले उत्पादन भएका सामग्रीलाई बजारसँग जोड्न सकिने सम्भावना रहेको भन्दै आगामी दिनमा कार्यालयले सहकार्य र प्राविधिक सहयोग जारी राख्ने बताए।

तालिमकी सहभागी बबिता जोशी ले आफ्नो अनुभव सुनाउँदै पहिले पराल र मकैको खोस्टाबाट सीमित घरेलु सामग्री मात्र बन्ने सोच रहेको तर तालिमपछि डस्विन, किरिङ, टोपी, चप्पल जस्ता विविध उपयोगी सामग्री बनाउन सिकिएको बताइन्। उनले यो सीपले आफूहरूलाई आत्मनिर्भर बन्ने नयाँ अवसर दिएको धारणा राखिन्।

chakti1.gif

तालिममा २४ जना महिलाहरूको सहभागिता रहेको थियो। उनीहरूले पराल र मकैको खोस्टाबाट डस्विन, चकटी, ढकी, मुढा, ह्याट, टोपी, चप्पल र सजावटका सामग्री निर्माण गर्ने सीप सिकेका छन्। यसले ग्रामीण क्षेत्रमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी आयआर्जन गर्ने सम्भावना विस्तार गरेको छ।

समापन अवसरमा प्रशिक्षकद्वय रजनी चित्रकाररिमा गाहा लाई उत्कृष्ट प्रशिक्षण प्रदान गरेको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो। उनीहरूले सहभागीहरूको लगनशीलता र सिकाइप्रतिको रुचिले तालिम सफल भएको बताएका थिए।

कार्यक्रममा स्थानीय उद्यमी, व्यवसायी, वडा सचिव, कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्, जसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार