म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–१ स्थित दुर्गम बस्ती गुर्जामा पहिलोपटक नेपाली चलचित्रको छायाङ्कन सुरु गरिएको छ । छन्त्याल र दलित समुदायको परम्परागत बसोबास रहेको ढुङ्गे घरहरूले सजिएको गुर्जा गाउँमा सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सारथी’को छायाङ्कन भइरहेको हो ।
सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा रहेको गुर्जा यसअघि म्युजिक भिडियो छायाङ्कनका लागि प्रयोग भए पनि ठूलो पर्दाको चलचित्र निर्माण भने पहिलोपटक हुन लागेको हो । प्राकृतिक सौन्दर्य, चुरेन हिमाल, परम्परागत जीवनशैली र स्थानीय संस्कृति समेटेर चलचित्रका दृश्य खिच्न थालिएको निर्माण टोलीले जनाएको छ ।
चलचित्रका प्रमुख निर्माता तारा थापाका अनुसार निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर छायाङ्कन गरिरहेको छ । फिल्म निर्माणका लागि करिब ६० जनाको टोली गुर्जा पुगेको छ । गाउँको मुख्य बस्ती, देउराली डाँडालगायत विभिन्न स्थानमा दृश्य छायाङ्कन भइरहेको छ ।
चलचित्रमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ र राजेन्द्र केसीको अभिनय रहनेछ । साथै स्थानीय कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत नयाँ कलाकारले पनि अभिनय गर्नेछन् ।
निर्देशक कुमार गजुरेलले चलचित्रको अधिकांश दृश्य गुर्जा क्षेत्रमै खिचिने जानकारी दिनुभयो । उहाँका अनुसार गुर्जाकै सामाजिक परिवेशलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रमार्फत गुर्जाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
निर्देशक गजुरेलले केही वर्षअघि गुर्जा हिमालको आधार शिविर पुगेका बेला नै यहाँ फिल्म बनाउने योजना बनाएको उल्लेख गर्दै गुर्जाको भूबनोट र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई भविष्यमा ‘फिल्म सिटी’का रूपमा विकास गर्न सकिने सम्भावना रहेको धारणा राख्नुभयो । उहाँले गुर्जामा विश्वसामु चिनाउनुपर्ने धेरै प्राकृतिक तथा सांस्कृतिक सम्पदा रहेको भन्दै यसको प्रचारप्रसारमा राज्यस्तरबाट पहल हुनुपर्ने बताउनुभयो ।
हालै मात्र सडक सञ्जालको पहुँच पुगेको गुर्जा जिल्लाकै सबैभन्दा दुर्गम बस्तीमध्ये एक मानिन्छ । भूगोलले टाढा भए पनि प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्रलाई चलचित्र छायाङ्कनले थप प्रचारप्रसारमा मद्दत पुग्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले यसअघि केही गीतका भिडियो छायाङ्कन भए पनि अहिले ठूलो पर्दाको चलचित्र निर्माण भइरहेकाले गुर्जाको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको ‘सारथी’ चलचित्रमा तीस वर्षभन्दा लामो फिल्म सम्पादन अनुभव भएका तारा थापा मुख्य निर्माताका रूपमा रहनुभएको छ । चलचित्रका अन्य निर्मातामा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी रहेका छन् भने निर्देशक कुमार गजुरेलले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij