नेपाल सम्वत् ११४६, बछलाथ्वः १ प्रतिपदा (५ बैशाख, २०८३, १८ अप्रिल, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको चरिकोटमा नेपाली सेनाको आयोजनामा भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गत उप–सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। गरुडदल गणको व्यवस्थापनमा भीमेश्वर रंगशाला टुडिखेलमा आयोजित कार्यक्रममा दोलखाभरिका १ हजार ३६२ जना भूपू सैनिक तथा उनीहरूका परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
“पुनर्मिलन र हितग्राहीको कल्याण” भन्ने नारासहित आयोजित सम्मेलनले लामो समयपछि भेटिएका पूर्वसैनिकहरूबीच आत्मीयता र भाइचाराको वातावरण सिर्जना गरेको थियो। कार्यक्रममा राष्ट्रको सेवा गरी अवकाश प्राप्त गरेका युवादेखि शताब्दी उमेर पार गरिसकेका ज्येष्ठ नागरिकसम्मको उपस्थिति देखिएको थियो, जसले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रममा गरुडदल गणका गणपति प्रमुख सेनानी लोकसागर कटुवालले भूपू सैनिकहरूको राष्ट्रप्रतिको योगदानको उच्च प्रशंसा गर्नुभयो। सम्मेलनका क्रममा फरक क्षमता भएका ६ जना भूतपूर्व सैनिकलाई व्हीलचेयर तथा बैसाखी वितरण गरिएको थियो।
त्यसैगरी १०२ वर्षीया पदम कुमारी खड्कालाई ‘ज्येष्ठ शताब्दी महिला’का रूपमा सम्मान गरिएको थियो। साथै ९९ वर्षीय चन्द्रबहादुर कार्की र ९३ वर्षीया ललिता कुमारी बस्नेतलाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी सरद लामिछानेले भूपू सैनिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कल्याणकारी कोषबाट प्राप्त सेवा–सुविधा तथा सुधारका आवश्यकताबारे सुझाव तथा गुनासाहरू संकलन गर्नुभएको थियो।
सम्मेलनमा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए, जसमा नृत्य, कराते प्रदर्शन लगायतका गतिविधिहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, नेपाल प्रहरीका डिएसपी मनोज लामा, सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरिकोटका डिएसपी सञ्जय अधिकारी, उद्योग वाणिज्य कार्यालय दोलखाका प्रमुख भाष्कर ढुङ्गाना, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको सहभागिता रहेको थियो।
सहभागीहरूका लागि क्याप, कम्मल, खाना, नास्ता तथा यातायात खर्चको व्यवस्था गरिएको थियो। नेपाली सेनाले यस्ता सम्मेलनमार्फत सेवामा रहेका र अवकाश प्राप्त सैनिकबीच सम्बन्ध सुदृढ बनाउने तथा शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा कल्याणकारी सेवाहरू विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।
उल्लेखनीय रूपमा, भूतपूर्व सैनिक सम्मेलन प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ। यस वर्ष आयोजना हुनुपर्ने सम्मेलन प्रतिनिधिसभा निर्वाचनका कारण केही समय ढिलाइपछि सम्पन्न गरिएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij