Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

समयमै पाठ्यपुस्तक वितरण: भरतपुरबाट सात जिल्लामा अग्रिम आपूर्ति सुरु

समयमै पाठ्यपुस्तक वितरण: भरतपुरबाट सात जिल्लामा अग्रिम आपूर्ति सुरु

नेपाल सम्वत् ११४६, चौलागाः ८ अष्टमी (२७ चैत्र, २०८२, १० अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड अन्तर्गतको बागमती प्रादेशिक कार्यालय भरतपुर ले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक वितरण गरेर विगतका ढिलाइ समस्याको अन्त्य गरेको जनाएको छ।

पछिल्ला वर्षहरूमा विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक नपाउँदा अध्ययन प्रभावित हुँदै आएको थियो। तर यस वर्ष चैत १६ गतेदेखि सात जिल्लामा पुस्तक वितरण सुरु गरिएसँगै यस्तो समस्या हटेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख धनबहादुर केसी का अनुसार अब सूचीकृत स्टेसनरी पसलमार्फत नै विद्यार्थीसम्म पुस्तक पुर्‍याउने व्यवस्था मिलाइएको छ।

नयाँ प्रणालीअनुसार स्टेसनरी पसलले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्दैन। आवश्यक कागजात इमेल वा ह्वाट्सएपमार्फत पठाएपछि सूचीकृत गरिन्छ र मागअनुसार पुस्तक पठाइन्छ। विद्यालयले विद्यार्थीलाई पुस्तक वितरण भएको पुष्टि वडा कार्यालयमार्फत गरेपछि ढुवानी खर्च पसललाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कार्यालयका सूचना अधिकारी केदार विष्ट ले यस वर्ष २० करोडभन्दा बढी मूल्यका पुस्तक प्राप्त भएको र हालसम्म लाखौँ थान पुस्तक बिक्री भइसकेको जानकारी दिएका छन्। यस वर्ष करिब १५ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ।

हाल जनक शिक्षाले कक्षा ३ र कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छाप्दै आएको छ भने कक्षा १, २ र ४ का पुस्तक निजी क्षेत्रले छाप्ने व्यवस्था गरिएको छ। बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र दक्षिण तनहुँ जिल्लामा पुस्तक वितरण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार